२५ आश्विन २०८३, आईतवार

कांग्रेसको विशेष महाधिवेशनमा १ करोड ६४ लाख खर्च, चुनावमा करिब ३ करोड

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रतिनिधिहरूको खानपान र बसोबास व्यवस्थापनमा १ करोड ६४ लाख ५९१ रुपैयाँ खर्च भएको छ। पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गरेको र पारित भएको प्रतिवेदनमा यस्तो विवरण छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा करिब २ हजार ७०० प्रतिनिधि सहभागी थिए। महाधिवेशनको वैधानिकताबारे तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ।

प्रतिवेदनअनुसार गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले २ करोड ९६ लाख ५१ हजार ४०६ रुपैयाँ खर्च गरेको थियो। आर्थिक वर्ष २०८२/८३ मा पार्टी कार्यालय सञ्चालनमा १ करोड ७७ लाख ६४ हजार ४३३ रुपैयाँ खर्च भएको थियो।

आर्थिक वर्ष २०८२/८३ मा सदस्यता, लेवी र नवीकरण शुल्कबाट ५५ लाख ७७ हजार ९२१ रुपैयाँ, चन्दा तथा सहयोगबाट १ करोड ५३ लाख ९२ हजार रुपैयाँ र अन्य स्रोतबाट ३६ लाख २० हजार ४३८ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

चालू आर्थिक वर्ष २०८३/८४ को असोज १५ गतेसम्म सदस्यता, लेवी र नवीकरण शुल्कबाट ४ करोड ९६ लाख ९ हजार २१० रुपैयाँ तथा अन्य आयबाट १ करोड ५४ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ। यस अवधिमा कार्यालय सञ्चालनमा ९ लाख २० हजार ९५४ रुपैयाँ खर्च भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button