गगनमाथि मोहन बस्नेतको आक्रोश : ‘सिंहदरबार जलाउनेसँग माफी माग्ने नामर्द, हुतीहारा र नालायक’

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि चर्को आलोचना गरेका छन्। सिंहदरबार जलाउनेहरूलाई माफी मागेको भन्दै उनले थापालाई ‘नामर्द, हुतीहारा र नालायक’ भनेका छन्।
कांग्रेसको इतर पक्षले आयोजना गरेको काठमाडौं–४ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, “मैले गगन थापाजीलाई नामर्द, हुतीहारा, नालायक पनि भन्छु। सिंहदरबारमा आगो लगाउनेसँग माफी माग्ने मान्छे यो देशमा को हुन्छ? देशका सम्पत्ति खरानी बनाउनेसँग माफी माग्ने मान्छे को हुन्छ?”
कांग्रेस बीपी कोइराला र सुशील कोइरालाले नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उनले यसलाई ‘मर्दहरूको पार्टी’ बताए।
“खुकुरी खाएको सभापतिलाई अझ कारबाही गर्छु भन्ने? २४ घण्टामा देश खरानी हुने गरी आन्दोलन हुन्छ, घटना हो? त्यो घटनामा उहाँहरू चुइँक्क बोल्न नसक्ने, आन्दोलन ठीक हो भन्ने? हामीले गल्ती गर्यौँ, हामी माफी माग्छौँ भन्ने?” उनले भने।
बस्नेतले पार्टीका नेताहरूको कुरा नमानेर गल्ती भएको भन्दै थापा हिँडेको टिप्पणी पनि गरे।





