नौ वर्षदेखि पारिश्रमिक ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई बाँड्दै वडाध्यक्ष

ड्रागन मिडिया सम्वाददाता
कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर ‘भुन्टु’ले आफूले पाउने पारिश्रमिक र भत्ता नौ वर्षदेखि वडाका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन्।
२०७४ सालमा पहिलोपटक वडाध्यक्ष निर्वाचित भएपछि उनले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गरेका थिए। त्यसयता वर्षभरि जम्मा भएको रकम दसैँका बेला जरुरतमन्दलाई बाँड्दै आएका छन्। २०७९ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पनि उनले यो अभ्यासलाई निरन्तरता दिएका छन्।
घटस्थापनाका दिन उनले वडाका १५८ जना ज्येष्ठ नागरिक र सात जना अपाङ्गता भएका व्यक्तिलाई जनही १ हजार ५०० रुपैयाँका दरले रकम वितरण गरे। कुल १६५ जनाले सहयोग पाएका हुन्।
कुँवरले जनप्रतिनिधि जनताको सेवक भएकाले राज्यबाट प्राप्त सुविधा व्यक्तिगत रूपमा लिनुभन्दा जनताकै सेवामा लगाउन उचित हुने बताए। स्थानीयले चाडपर्वका बेला पाएको सहयोगप्रति खुसी व्यक्त गर्दै उनको पहलको प्रशंसा गरेका छन्।





