बर्दियाको नमस्ते सहकारीमा १७ करोड २२ लाख रुपैयाँ बचत अपचलनको आरोप, अध्यक्षसहित तीन जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
बर्दियाको गुलरिया नगरपालिका–६ स्थित नमस्ते बचत तथा सहकारी संस्थामा बचतकर्ताको १७ करोड २२ लाख १९ हजार ४४८ रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले अध्यक्ष नगेन्द्र रिजालसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्य दुई जनामा सहकारीका व्यवस्थापक सञ्जीव महतो र सञ्चालक समिति सदस्य नगेन्द्र पाण्डे छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहोराका अनुसार सहकारीको सञ्चालक समिति, लेखा समिति र कर्जा उपसमितिसँग सम्बन्धित अन्य १२ जना आरोपित फरार छन्। आर्थिक वर्ष २०७९/८० मा भएको भनिएको बचत अपचलनबारे २०८३ सालमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
सहकारीमा तरकारी, फलफूल र अण्डा बेच्ने व्यवसायीदेखि ठूला व्यापारीसम्मले बचत गरेका थिए। प्रहरी अनुसन्धानलाई उद्धृत गर्दै कान्तिपुरले जनाएअनुसार व्यक्तिगत बचत रकम २० हजार रुपैयाँदेखि एक करोड रुपैयाँभन्दा बढीसम्म थियो। केही बचतकर्ताले बढी ब्याज पाउने आशामा बैंकबाट ऋण लिएरसमेत सहकारीमा रकम जम्मा गरेका थिए।
रकम हिनामिना भएको उजुरीमा लुम्बिनी सहकारी बोर्डले करिब तीन वर्षअघि कारबाही प्रक्रिया अघि बढाएको थियो। त्यस क्रममा अध्यक्ष र व्यवस्थापकसहित केही पदाधिकारी सम्पर्कविहीन भएपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयले संस्थाका कागजात नियन्त्रणमा लिएर छानबिन थालेको थियो।
सहकारीबाट ऋण लिएका दुई सयभन्दा बढी ऋणीले कर्जा चुक्ता गर्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ। ती ऋणीबाट बक्यौता असुल गर्न कानुनी प्रक्रिया अघि बढाइएको छ।





