एक रजतको अन्तरले मेधालाई उछिन्दै भक्तपुर नगर खेलकुदमा प्रभात पहिलोg

ड्रागन मिडिया सम्वाददाता
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा प्रभात इङ्लिस सेकेण्डरी स्कूल र मेधा माध्यमिक विद्यालयले समान १५ स्वर्ण पदक जितेका छन्। रजत पदकमा मेधाभन्दा एक पदकले अघि रहेको प्रभातले पदक तालिकामा पहिलो स्थान हासिल गर्यो।
प्रभातले १५ स्वर्ण, १० रजत र ११ कांस्यसहित ३६ पदक जित्यो। दोस्रो स्थानमा रहेको मेधाले १५ स्वर्ण, ९ रजत र ८ कांस्य गरी ३२ पदक हात पार्यो। वागिश्वरी माध्यमिक विद्यालयले १३ स्वर्ण, १२ रजत र १५ कांस्यसहित ४० पदक जितेर तेस्रो स्थान हासिल गर्यो।
भक्तपुर नगरपालिकाले आयोजना गरेको साताव्यापी प्रतियोगितामा नगरभित्रका ८४ विद्यालयका ३ हजार २४५ खेलाडीले १५ खेलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, एथलेटिक्स, कबड्डी, खो–खो, कराते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, पोर्टबल, बुद्धिचाल, कसिमला पाँय र बाघचाल समावेश थिए।
विजेता खेलाडीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले उत्कृष्ट खेलाडीहरूको नाम घोषणा गर्नुका साथै सहभागी विद्यालयलाई खेलकुद सामग्री पनि वितरण गरेको थियो।





