११ मंसिर २०८३, बिहीबार

गण्डकीसँग ५–० ले हारेपछि पुरुष फुटबलको लिग चरणबाटै बाहिरियो आयोजक कर्णाली

ड्रागन मिडिया सम्वाददाता

आशिष गुरुङले दुई गोल गरेपछि गण्डकी प्रदेशले बिहीबार दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा आयोजक कर्णाली प्रदेशलाई ५–० ले हराएको छ। लगातार दोस्रो हारसँगै कर्णाली पुरुष फुटबलको लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ।

लछु थापाले १६औँ मिनेटमा गण्डकीका लागि पहिलो गोल गरे। आशिषले २५औँ र ३३औँ मिनेटमा गोल थपेपछि गण्डकीले पहिलो हाफमै ३–० को अग्रता बनायो। दोस्रो हाफको ५७औँ मिनेटमा सुदीप गुरुङले चौथो गोल गरे। खेलको अन्त्यमा थपिएको समयमा टेकराज गुरुङले गण्डकीका लागि पाँचौँ गोल गरे।

मंगलबारको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो। कर्णालीले दुई खेलमा आठ गोल खायो भने एक गोल पनि गर्न सकेन।

खेल आयुक्त वीरेन्द्र पाण्डेका अनुसार गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाए। बिहीबार दिउँसो साढे दुई बजेका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीचको खेल तय गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button