२८ आश्विन २०८३, बुधबार

बेनी–जोमसोम सडकको दुरवस्थाले कोरलाबाट आएका २,५०० भन्दा बढी विद्युतीय सवारी मुस्ताङमै रोकिए

ड्रागन मिडिया सम्वाददाता

असोज ११ को भारी वर्षापछि बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा कोरला नाकाबाट भित्रिएका २,५०० भन्दा बढी विद्युतीय सवारी मुस्ताङमै रोकिएका छन्। सडक शुक्रबार साँझदेखि सञ्चालनमा आए पनि अवस्था सहज नभएकाले सवारीलाई गन्तव्यसम्म पुर्‍याउन कठिन भएको छ।

कोरला नाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा दुई हजारभन्दा बढी विद्युतीय सवारी राखिएका छन्। भन्सार जाँचपास भएर जोमसोम पुगेका पाँच सयभन्दा बढी सवारी पनि सडकको नाजुक अवस्थाका कारण त्यहाँका पार्किङस्थलमा रोकिएका छन्।

साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार असोज ११ पछि कोरला नाकाबाट भित्रिएका बीवाईडीका दुई हजारभन्दा बढी सवारी गन्तव्यमा पठाउन सकिएको छैन। साना सवारीलाई सडकमा अघि बढाउन अझै कठिन रहेको उनले बताए। रसुवा र तातोपानी नाका बन्द भएपछि कम्पनीले कोरला नाकाबाट तीन हजारभन्दा बढी विद्युतीय सवारी भित्र्याउने योजना बनाएको पनि उनले जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार सोमबारसम्म कोरला नाकाबाट आएका मालवस्तु बोकेका छ सयभन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ गइसकेका छन्। कन्टेनर बाहिरिएपछि सामान ढुवानीका लागि केही खाली कन्टेनर कोरला नाकातर्फ उक्लिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button