चीनको फुझाउमा विश्व शहर दिवस २०२६ आयोजना हुने

ड्रागन मिडिया समाचार कक्ष
चीनको फुझाउमा अक्टोबर ३१ मा विश्व शहर दिवस २०२६ आयोजना हुने भएको छ। संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले बुधबार घोषणा गरेको हो।
यस वर्षको दिवसको नारा ‘शहरको पुनरुत्थान : सबैका लागि पर्याप्त आवास’ तय गरिएको छ। कार्यक्रम फुजियान प्रान्तको राजधानी फुझाउस्थित फुझाउ स्ट्रेट अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा हुनेछ।
यूएन–ह्याबिट्याटका अनुसार कार्यक्रमले सहरी पुनरुत्थानले दिगो विकास लक्ष्य, विशेषतः दिगो शहर तथा समुदायसम्बन्धी लक्ष्य ११, हासिल गर्न र नयाँ सहरी कार्यसूची कार्यान्वयन गर्न पुर्याउने योगदानबारे छलफल गर्नेछ। सहरी क्षेत्रको पुनरुत्थान, पर्याप्त आवासमा पहुँच विस्तार तथा समावेशी, उत्थानशील र दिगो शहर निर्माण छलफलका प्रमुख विषय हुनेछन्।
अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चल्ने कार्यक्रममा संयुक्त राष्ट्रसंघका उच्च अधिकारी, राष्ट्रिय तथा स्थानीय सरकारका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक क्षेत्र, निजी क्षेत्र र समुदायका प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले साझा सहरी चुनौती समाधानका उपाय र सफल अभ्यासबारे विचार आदानप्रदान गर्नेछन्।
कार्यक्रममा दिगो विकासका लागि शहरसम्बन्धी चौथो चक्रको विश्व पुरस्कार, अर्थात् ‘साङ्घाई पुरस्कार’, पनि प्रदान गरिनेछ। दिगो सहरी विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेका शहरलाई यो पुरस्कार दिइन्छ। उच्चस्तरीय उद्घाटन समारोह, विषयगत मञ्च, सहरी निर्णयकर्ता तथा अभ्यासकर्ताका कार्यक्रम, विशेष प्रदर्शनी र शहर अवलोकन भ्रमण पनि आयोजना हुनेछन्।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा स्थापना गरेको विश्व शहर दिवस पहिलोपटक सन् २०१४ मा मनाइएको थियो। दिगो सहरीकरणका लागि विश्वव्यापी सहकार्य प्रवर्द्धन गर्नु यसको उद्देश्य हो।





