४७ प्रकारका औषधिको आयात र नयाँ उत्पादनमा रोक

ड्रागन मिडिया सम्वाददाता
औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ प्रकारका औषधिको आयात र नयाँ उत्पादनमा रोक लगाएको छ। विभागका अनुसार ती औषधिको उत्पादन अनुमति, बिक्री-वितरण दर्ता, आयात दर्ता र आयात सिफारिसपत्र खारेज गरिएको छ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विश्व स्वास्थ्य संगठनको प्राविधिक प्रतिवेदन शृङ्खला (टीआरएस) ले तोकेको मापदण्ड पूरा नगरेका औषधिमाथि असोज २० गतेको निर्णयअनुसार रोक लगाइएको हो। तर बजारमा पहिले नै बिक्री भइरहेका ती औषधिको बिक्री-वितरणमा रोक लगाइएको छैन।
रोग प्रतिरोधात्मक क्षमता दबाउने औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न तथा एक औषधिबाट अर्कोमा मिसावट हुने जोखिम घटाउन विभागले जोखिम मूल्याङ्कन गरिरहेको जनाएको छ। मूल्याङ्कनका कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति सन्तुलित राख्न बढीमा तीन महिनाका लागि उत्पादन वा आयात अनुमति दिइएको छ।
यस्तो अनुमति पाएका उत्पादक तथा आयातकर्तालाई औषधि आयात गर्दा भन्सार प्रज्ञापनपत्र र मौज्दात विवरण विभागमा तत्काल बुझाउन अनुरोध गरिएको छ।





