चीनको झुछ्वे–२ई रकेटबाट १० उपग्रह प्रक्षेपण

ड्रागन मिडिया समाचार कक्ष
चीनले बुधबार उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट झुछ्वे–२ई वाई–४ रकेट प्रक्षेपण गरी १० उपग्रहलाई निर्धारित कक्षमा पुर्याएको छ। स्थानीय समयअनुसार साँझ ७:४० बजे प्रक्षेपण गरिएको रकेटको परीक्षण उडान सफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
प्रक्षेपण गरिएका उपग्रहमा एडीएस्पेस टेक्नोलोजी कम्पनीले विकास गरेको ‘स्टार कम्प्युट’ योजनाको दोस्रो समूहका आठ उपग्रह छन्। बिहानी र साँझको सीमावर्ती सूर्यकक्षमा सञ्चालन हुने गरी बनाइएका यी उपग्रहमा उच्च क्षमताका गणना उपकरण, उपग्रहबीच तथा उपग्रह र भूमिस्थित केन्द्रबीच सञ्चार गर्ने लेजर उपकरण र कम प्रकाशमा तस्बिर खिच्ने क्यामेरा छन्।
कम्पनीका अनुसार उपग्रहले १० हजार वाट क्षमताको तरल शीतलन प्रणाली, विशाल विस्तारयोग्य विकिरण–शीतलन पखेटा, विस्तृत क्षेत्रमा काम गर्ने लेजर सञ्चार सञ्जाल र अन्तरिक्षमै आधारभूत कृत्रिम बुद्धिमत्ता नमुना प्रशिक्षणलगायत प्रविधिको परीक्षण गर्नेछन्।
एडीएस्पेसले दोस्रो समूहका उपग्रहको कक्षीय परीक्षण गर्दै प्रविधि सुधार गर्ने र अन्तरिक्ष गणना प्रणालीको विकास अघि बढाउने जनाएको छ। कम्पनीको ‘स्टार कम्प्युट’ योजनाअन्तर्गत २८ सय गणनायुक्त उपग्रहबाट कृत्रिम बुद्धिमत्ताका लागि अन्तरिक्ष पूर्वाधार निर्माण गर्ने लक्ष्य छ। योजनाको पहिलो समूह सन् २०२५ को मेमा प्रक्षेपण गरिएको थियो भने तेस्रो समूह सन् २०२६ भित्र कक्षमा पठाउने तयारी छ।





