रोमानियाको समुद्री क्षेत्रमा ट्यांकरमा ड्रोन प्रहार भएको खबर

ड्रागन मिडिया समाचार कक्ष
काला सागरमा रोमानियाको समुद्री सीमाभित्र बुधबार साँझ कोमोरोसको झण्डावाहक व्यापारिक ट्यांकरमा ड्रोन प्रहार भएको खबर सार्वजनिक भएको छ। प्रहारपछि जहाजमा आगलागी भए पनि आगो नियन्त्रणमा लिइएको र चालक दलका सदस्य घाइते नभएको रोमानियाली सञ्चारमाध्यमले जनाएका छन्।
रोमानियाको स्वतन्त्र नाविक सङ्घका अध्यक्ष एड्रियन मिहाल्सियोइउका अनुसार ‘यारा जे’ नामको जहाज सुलिना बन्दरगाहबाट आठदेखि दश समुद्री माइल दक्षिणपूर्वमा रहेको बेला प्रहार भएको बताइएको छ। जहाजमा सिरिया, भारत र इरानका १७ जना चालक दलका सदस्य थिए।
रोमानियाका रक्षामन्त्री रादु मिरुताले जहाजमा वास्तवमै ड्रोन प्रहार भएको हो वा होइन भन्ने पुष्टि गर्न जाँच भइरहेको बताएका छन्। जहाजले सहयोग मागेपछि रोमानियाको समुद्री उद्धार निकायले उद्धार जहाज घटनास्थलतर्फ पठाएको थियो।
रोमानियाको सार्वजनिक प्रसारण संस्था टीभीआरका अनुसार जहाज टर्किएबाट युक्रेनको इज्माइल बन्दरगाहमा मालसामान लिन जाँदै थियो।





