२९ आश्विन २०८३, बिहीबार

गाजामा नागरिक प्रभावित हुने हमलाबारे राष्ट्रसंघको चिन्ता

ड्रागन मिडिया समाचार कक्ष

संयुक्त राष्ट्रसंघका मानवीय निकायले कब्जामा रहेको प्यालेस्टिनी भूभागमा नागरिक र बस्ती प्रभावित हुने इजरायली हमलाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार मङ्गलबार र बुधबार गाजाका सबै प्रशासनिक क्षेत्रमा हवाई हमला, गोलाबारी, विस्फोट, समुद्रबाट गोली प्रहार तथा गोली चलाइएका घटना अभिलेख गरिएका छन्। यस्ता घटना विशेषगरी कथित ‘पहेंलो रेखा’को पश्चिमी क्षेत्रमा भएका थिए। कार्यालयले नागरिक र नागरिक पूर्वाधारको सधैँ संरक्षण हुनुपर्नेमा जोड दिएको छ।

जाडो र वर्षायामको तयारीका लागि संयुक्त राष्ट्रसंघ र साझेदार संस्थाले गाजामा इन्धन, प्लास्टिकका त्रिपाल, न्यानो कपडा, औषधि तथा स्वास्थ्य सामग्री पुर्‍याइरहेका छन्। तर, प्राप्त सामग्री आवश्यकताभन्दा निकै कम रहेको कार्यालयले जनाएको छ। साझेदार संस्थाका अनुसार पर्याप्त बजेटको अभाव र इजरायली प्रतिबन्धले सहायता सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ।

यसैबीच, कब्जामा रहेको पश्चिम किनाराको रामल्लाहमा इजरायली सेनाले प्यालेस्टिनी नागरिक समाजका संस्थाहरू र एउटा स्वास्थ्य केन्द्रमा छापा मारेको संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले जनाएको छ। मङ्गलबार गरिएको छापाका क्रममा फाइल र उपकरण जफत गर्नुका साथै केही व्यक्तिलाई हिरासतमा लिइएको थियो।

कार्यालयले प्यालेस्टिनी नागरिक समाजमाथिको कारवाही रोक्न इजरायली अधिकारीहरूलाई आग्रह गर्दै मानव अधिकार र संरक्षणकर्मीलाई लक्षित छापा तथा हिरासतले उनीहरूको काममा त्रास सिर्जना गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button