युक्रेनले सन् २०२२ पछि पहिलोपटक स्वालबार्ड बीउ भण्डारमा बीउ राख्यो

ड्रागन मिडिया समाचार कक्ष
युक्रेनले नर्वेको आर्कटिक क्षेत्रमा रहेको स्वालबार्ड विश्व बीउ भण्डारमा ७७३ नमुना बीउ जम्मा गरेको छ। सन् २०२२ मा रुस–युक्रेन द्वन्द्व शुरु भएयता युक्रेनले उक्त भण्डारमा बीउ राखेको यो पहिलोपटक हो।
नर्वेको कृषि तथा खाद्य मन्त्रालयका अनुसार मङ्गलबार राखिएका ती बीउमा फापरलगायत विभिन्न बालीका नमुना छन्। ती नमुनाले युक्रेनका कृषि आनुवंशिक स्रोतको संरक्षणमा थप सुरक्षा प्रदान गर्नेछन्।
यो जम्मा अन्तर्राष्ट्रिय प्रयासअन्तर्गत २१ वटा बीउ बैंकबाट १६ हजारभन्दा बढी नमुना स्वालबार्ड पुर्याइएको थियो। अन्तर्राष्ट्रिय कृषि अनुसन्धान केन्द्रहरूको सञ्जालअन्तर्गतका छ अनुसन्धान बीउ बैंकले ८ हजार ९१७ नमुना दिएका छन्। इटालीको कृषि अनुसन्धान तथा अर्थशास्त्र परिषद्ले ऐतिहासिक गहुँ र धानका जातसहित पहिलोपटक बीउ जम्मा गरेको छ।
नर्वेका कृषि तथा खाद्यमन्त्री निल्स क्रिस्टन स्यान्डट्रोएनले विश्वका बाली विविधताको संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्यको महत्त्व पछिल्लो जम्माले देखाएको बताए।
नर्वे सरकारले सन् २००८ मा स्थापना गरेको स्वालबार्ड बीउ भण्डारले विश्वभरका बीउ बैंकका सङ्ग्रहको प्रतिलिपि निःशुल्क र दीर्घकालीन रूपमा सुरक्षित राख्छ। स्पिट्सबर्गेन टापुको पहाडभित्र रहेको यस भण्डारमा अहिले १३० भन्दा बढी बीउ बैंकका १४ लाखभन्दा बढी नमुना छन्। यो खेती गरिने बालीको विविधता सुरक्षित राख्ने विश्वकै ठूलो भण्डार हो।





