छानबिन र कारबाही ममाथि होस्, महिलामाथिको आक्रमण स्वीकार्य छैन : खगेन्द्र सुनार

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूसँग जोडेर एक निर्दोष महिलामाथि भइरहेको टिप्पणी र दुर्व्यवहार स्वीकार्य नहुने बताएका छन्। बुधबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले छानबिन र कारबाही गर्नुपर्ने भए आफूविरुद्ध गर्न, महिलालाई दुःख नदिन आग्रह गरेका छन्।
सुनारले महिलाको तस्बिर, अडियो र भिडिओ जोडेर अतिरञ्जित प्रचार तथा ‘मिडिया ट्रायल’ गरिएको भन्दै आपत्ति जनाएका छन्। विगतको कुनै घटनाबारेको काल्पनिक बुझाइका आधारमा महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो भन्ने प्रश्न पनि उनले गरेका छन्।
आफूबाट गल्ती भएको भए महिलाको पहिचान गोप्य राखेर प्रहरी वा अदालतबाट अनुसन्धान तथा कारबाही गर्न सकिने उनको भनाइ छ। गलत समाचार नलेख्न आग्रह गर्दागर्दै पनि सम्बन्धित सञ्चारमाध्यमले महिलालाई किन लखेटेको भन्दै उनले प्रश्न गरेका छन्।
सुनारले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोले आफूलाई पटक–पटक भेट्न बोलाएको र मुद्दा हाल्न भनेको दाबी गरेका छन्। अन्याय भएको भए आफूले नै मुद्दा हाल्ने महिलाको जवाफपछि ‘तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौँ’ भन्दै धम्की दिइएको र त्यसको केही दिनपछि पछिल्लो घटनाक्रम भएको उनले बताएका छन्।
आफूमाथि उठेका हरेक आरोपको सत्यतथ्य छानबिन होस् भन्ने आफ्नो माग रहेको सुनारले बताएका छन्। “जे कारबाही हो, ममाथि होस्—मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन, त्यो गलत छ,” उनले लेखेका छन्।





