२९ आश्विन २०८३, बिहीबार

धरानमा तीन वर्षमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा

ड्रागन मिडिया सम्वाददाता

धरानमा प्रहरी र स्थानीयवासीले नियन्त्रण अभियान चलाइरहे पनि लागूऔषधको प्रयोग तथा कारोबार बढिरहेको पाइएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म विभिन्न कसुरका १ हजार १७२ मुद्दा दर्ता भएका छन्। तीमध्ये लागूऔषधसम्बन्धी ४०६ मुद्दा छन्।

इलाका प्रहरी कार्यालयका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५१७ र गत आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म १६१ मुद्दा दर्ता भएका छन्। यस अवधिमा १०३ पुरुष र आठ महिलासहित १११ जना पक्राउ परेको राईले बताए।

तीन वर्षमा अभद्र व्यवहार, बैङ्किङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणीका मुद्दा पनि दर्ता भएका छन्।

प्रहरीका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ। १५ देखि ५५ वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ। कारोबारीले सवारीसाधनमा गोप्य खण्ड बनाएर वा शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध ओसारपसार तथा बिक्री गर्ने गरेको प्रमुख राईले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button