बाढीले अवरुद्ध कालीगण्डकी पुल १८ दिनपछि सञ्चालनमा

ड्रागन मिडिया सम्वाददाता
कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि बन्द भएको घिरिङ–डेढगाउँ जोड्ने पुल १८ दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ जोड्ने पुलको दुवैतर्फको पहुँच सडक बाढीले क्षति पुर्याएको थियो।
नवलपुरतर्फको अस्थायी सडक गत साता निर्माण गरिएको थियो भने तनहुँतर्फको सडक बुधबार मर्मत सकिएपछि सवारीसाधन सञ्चालनमा आएका हुन्। घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले दुवैतर्फको पहुँच सडक बनेपछि पुलबाट आवागमन शुरु भएको जानकारी दिए।
तनहुँतर्फको सडक मर्मत सडक डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवाले गरेको हो। पुल खुलेपछि कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवन आवतजावत गर्न सहज हुने तथा यात्रु र मालसामान ढुवानीमा राहत पुग्ने अपेक्षा गरिएको छ।
करिब १२ वर्षअघि बनेको यो फलामे पुल पोखरा, गैंडाकोट र रामपुर आवतजावत गर्ने प्रमुख मार्गमा पर्छ। पहुँच सडक बग्दा दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन प्रभावित भएका थिए। पुल सञ्चालनमा आएपछि दसैँका बेला यात्रुहरूलाई राहत मिलेको अध्यक्ष थापाले बताए।





