युक्रेनसम्बन्धी मानव अधिकार तथ्याङ्कको निष्पक्ष जाँच माग्यो रुसले

ड्रागन मिडिया समाचार कक्ष
रुसी विदेश मन्त्रालयका विशेष दूत रोडियन मिरोशनिकले युक्रेनसम्बन्धी तथ्याङ्क सङ्कलन र प्रमाणीकरणमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको पद्धतिमाथि प्रश्न उठाउँदै अन्तरसरकारी तहमा खुला छलफल गर्न माग गरेका छन्।
अक्टोबर १४ मा संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ अधिवेशनअन्तर्गतको तेस्रो समितिको बैठकमा उच्चायुक्त भोल्कर टुर्कसँगको संवादका क्रममा मिरोशनिकले कार्यालयबाट घटनाको निष्पक्ष र तथ्यमा आधारित मूल्याङ्कन नआएको आरोप लगाए। तथ्य प्रमाणीकरण तेस्रो पक्षलाई सुम्पिने गरिएको र त्यसपछि विकृत सूचनाका आधारमा निष्कर्ष निकालिने उनको भनाइ थियो।
मिरोशनिकले रुसी नागरिकमाथि भएका आक्रमण र क्षतिलाई बेवास्ता गरिएको तथा यौन हिंसासम्बन्धी घटनामध्ये १० मध्ये नौ वटा रुससँग जोडिएको निष्कर्षको आधार नभएको दाबी गरे। उनले युक्रेनसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानव अधिकार निगरानी मिसनका प्रतिवेदन पनि अविश्वसनीय तथ्याङ्कमा आधारित रहेको आरोप लगाए। उक्त मिसनले सन् २०१४ मा किएभ र मानव अधिकार उच्चायुक्तको कार्यालयबीच भएको द्विपक्षीय सम्झौताअन्तर्गत काम शुरु गरेको र पश्चिमी दाताबाट आर्थिक सहयोग पाउने गरेको उनको भनाइ थियो।
रुसी पक्षको दाबीअनुसार सन् २०२२ यता युक्रेनी आक्रमणमा ३६ हजार ४०० भन्दा बढी सर्वसाधारण हताहत भएका छन्, जसमध्ये ९ हजार १४१ जनाको मृत्यु भएको छ। मिरोशनिकले यी आँकडालाई प्रमाणित गर्न रुस तयार रहेको बताए।
संयुक्त राष्ट्रसंघ र उच्चायुक्तको कार्यालयले तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गर्ने पद्धतिबारे सदस्य राष्ट्रहरूबीच खुला छलफल गर्नुपर्ने उनको आग्रह थियो। त्यसले राष्ट्रहरूको विश्वास पुनःस्थापित गर्न सघाउने उनले बताए।





