२९ आश्विन २०८३, बिहीबार

‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, दुई विवाहपछि दीपकको जीवनमा उथलपुथल

ड्रागन मिडिया सम्वाददाता

दशैँको फूलपातीका दिन प्रदर्शनमा आउने नेपाली चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ। चार मिनेट १८ सेकेन्ड लामो ट्रेलरले चलचित्रको कथावस्तु र पात्रहरूको झलक प्रस्तुत गरेको छ।

ट्रेलरमा अभिनेता दीपकराज गिरी मोटरसाइकल चालकको भूमिकामा देखिएका छन्। उमेर ढल्कँदै गएको पात्रले दुई विवाह गरेपछि उत्पन्न हुने परिस्थितिलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ। कथा पारिवारिक सम्बन्ध, प्रेम र वैवाहिक जीवनमा केन्द्रित छ।

चलचित्रमा गिरीसँगै दीपाश्री निरौला, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, रजनी केसी र कर्मा शाक्य पनि अभिनयमा छन्।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रको कथा, पटकथा र संवाद दीपकराज गिरीले लेखेका हुन्। दीपाश्री निरौला चलचित्रकी सल्लाहकार हुन्। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई आईएमईले प्रस्तुत गरेको छ।

चलचित्र असोज ३१ गते फूलपातीदेखि प्रदर्शनमा आउनेछ। यसको छायाङ्कन सुशन प्रजापति र आलोक शुक्लाले गरेका छन् भने सम्पादन विपिन मल्लको छ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button