२९ आश्विन २०८३, बिहीबार

दसैँको चहलपहलबीच बाजुराका किसानलाई धान भित्र्याउने चटारो

ड्रागन मिडिया सम्वाददाता

दसैँको चहलपहल बढिरहेका बेला बाजुराका किसान पाकेको धानबाली भित्र्याउन व्यस्त छन्। केही दिनअघि परेको वर्षाले कटाइमा ढिलाइ भएपछि मौसम खुलेसँगै किसान बिहानदेखि बेलुकासम्म खेतमा जुटेका छन्।

सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ र धुलाचौरका बजारमा चाडपर्वको किनमेल बढेको छ। गाउँ फर्कनेको चहलपहलसँगै खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किन्ने ग्राहक बढेको बाम्का बजारका व्यापारी मनिराम उपाध्यायले बताए।

बडीमालिका नगरपालिका–८ की किसान सरिता थापाका अनुसार किसान अहिले धान काट्ने, सुकाउने र घरमा सुरक्षित भण्डारण गर्ने काममा लागेका छन्। खप्तड छेडेदह गाउँपालिका–७ का गणेश बुढाले धान कटाइसँगै कोदो पनि पाक्न थालेकाले यस वर्ष चाडपर्वमा किसानलाई फुर्सद कम हुने बताए। फेरि वर्षा हुन सक्ने चिन्ताले पनि किसानलाई छिटो बाली भित्र्याउने हतारो भएको छ।

कृषि ज्ञान केन्द्र बाजुराले यस वर्ष धान उत्पादन अघिल्लो वर्षको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले बढ्ने अनुमान गरेको छ। सिँचाइ सुविधा विस्तार र रोपाइँका बेला समयमै वर्षा भएकाले उत्पादन बढ्ने केन्द्रका प्रमुख हरिशबहादुर विष्टले बताए। उनका अनुसार जिल्लामा ४ हजार ८४१ हेक्टरमा धान रोपाइँ भएको छ, जसमध्ये २ हजार ७४ हेक्टर पाखो जमिनमा छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १३ हजार ४५५ मेट्रिक टन धान उत्पादन भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button