उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच आर्थिक सहकार्यबारे छलफल

ड्रागन मिडिया सम्वाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच बुधबार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
भेटमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार र औद्योगिक विकासका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो। उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने र व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।
भेटवार्ताले आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको सचिवालयको भनाइ छ।





