लिगलिगे दौडका लागि पालुङटार नगरपालिकामा सार्वजनिक बिदा

ड्रागन मिडिया सम्वाददाता
ऐतिहासिक लिगलिगे दौडका अवसरमा गोरखाको पालुङटार नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको असोज २० गते बसेको बैठकले दौड हुने दिन बिदा दिने निर्णय गरेको थियो।
नगरपालिकाका सबै वडा कार्यालय र शैक्षिक संस्थामा बिदा दिइएको जनाइएको छ। नगरपालिकाले सङ्घसंस्था, खेलाडी र सरोकारवालालाई दौडमा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
लिगलिगकोटमा प्रचलित जनश्रुतिअनुसार, निर्धारित गन्तव्यमा सबैभन्दा पहिले पुग्ने व्यक्ति राजा बन्ने परम्परा थियो। यही परम्परासँग जोडिएर द्रव्य शाहले विसं १६१६ अर्थात् सन् १५५९ मा लिगलिगकोटमा सत्ता स्थापना गरेको र पछि गोरखा राज्य स्थापना गरेको इतिहासमा उल्लेख छ।
हाल लिगलिगे दौड ऐतिहासिक परम्पराको संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन र खेल पर्यटन विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ।





