कक्रोच जनता पार्टीलाई अमेरिकी दाताको रकम भन्ने मेरी मिलबेनको आरोप, दिपकेको आपत्ति

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी गायिका मेरी मिलबेनले भारतको कक्रोच जनता पार्टी (सीजेपी) र यसका संस्थापक अभिजित दिपकेलाई अमेरिकी दाताबाट रकम प्राप्त भइरहेको आरोप लगाएकी छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विरोधी ती दाताले भारतमा अशान्ति फैलाउन र सरकारको काममा अवरोध पुर्याउन रकम दिएको उनको दाबी छ। मिलबेनले आरोप पुष्टि गर्ने प्रमाण भने सार्वजनिक गरेकी छैनन्।
मिलबेनले सामाजिक सञ्जाल ‘एक्स’मा भारतका युवालाई मौन नबस्न र सीजेपीको गतिविधिविरुद्ध शान्तिपूर्ण प्रतिचलनमा सहभागी हुन आह्वान गरेकी छन्। “यो चुपचाप बस्ने समय होइन,” उनले लेखेकी छन्।
दिपकेले मिलबेनको आरोपप्रति आपत्ति जनाउँदै भारतका आन्तरिक मामिलामा विदेशी नागरिकले हस्तक्षेप गर्न नहुने बताएका छन्। भारतीयहरू आफ्ना समस्या आफैँ समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै उनले मोदीले आफ्नै देशवासीलाई बदनाम गर्न अमेरिकीहरूको समर्थन किन खोजेको भन्दै प्रश्न गरेका छन्।





