२९ आश्विन २०८३, बिहीबार

राजपरिवारको कल्याणको पूजाबाट देश र जनताको समृद्धिको कामनासम्म लमजुङ कालिका

ड्रागन मिडिया सम्वाददाता

लमजुङको बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबारको कालिका भगवती मन्दिरमा पुस्तौँदेखि चल्दै आएको पूजा परम्पराको सङ्कल्प समयसँगै फेरिएको छ। पहिले राजपरिवारको कल्याणका लागि गरिने पूजामा अहिले देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गरिन्छ। घटस्थापनादेखि पूर्णिमासम्म चल्ने पूजामा भने परम्परागत तान्त्रिक तथा धार्मिक विधि निरन्तर छ।

स्थानीय धार्मिक विश्वासअनुसार लमजुङ कालिकालाई जेठी, गोरखा कालिकालाई माइली, उदिपुर कालिकालाई साइँली र बागलुङ कालिकालाई कान्छी दिदीबहिनीका रूपमा पुजिन्छ। विसं १५५० मा यशोब्रह्म शाह लमजुङका राजा भएपछि गाउँसहर दरबारसँगै कालिका मन्दिर स्थापना गरी कुलदेवीका रूपमा पूजा शुरु भएको मानिन्छ।

मन्दिरमा कालिका भगवतीसहित महाकाली, महालक्ष्मी, महासरस्वती, ब्रह्मा, विष्णु, महेश्वर, दश अवतार र तेत्तीस कोटी देवीदेवताको स्मरण गरिन्छ। पूजाको व्यवस्थापनमा २२ जना सुसारे खटिन्छन्। मन्दिरभित्र प्रवेश गरेर पूजा गर्ने अधिकार बराल, बोहोरा, आले र राना समुदायका पुजारीलाई रहेको छ।

दसैँको फूलपाती भित्र्याउने विधि यहाँको मुख्य आकर्षण हो। षष्ठीका दिन दरबार परिसरमा पूजा गरेपछि आठ सुसारेको टोली बेँसीसहरको लक्ष्मीनारायण मन्दिर हुँदै मर्स्याङ्दी नदी किनार पुग्छ। त्यहाँ बोकाको बलि दिएर रातभर भजनकीर्तनसहित जाग्राम बसिन्छ। भोलिपल्ट बिहान स्नान गरेपछि फूलबारीबाट बेलपत्र, अशोकको पात, जयन्ती र आकुरीमाकुरी फूललगायत सामग्री सङ्कलन गरिन्छ।

विश्राम नगरी ल्याइएको फूलपाती चण्डीथुम्कामा पुर्‍याइन्छ। त्यहाँ दरबारबाट कलश, भजन समूह, मालश्री धुन र नौमती बाजासहित आउने अर्को टोलीसँग भेट हुन्छ। कुपिण्डो र बलि अर्पण गरेपछि बाजागाजासहित फूलपातीलाई कालिका मन्दिरको दसैँघरमा भित्र्याइन्छ।

सरकारी परम्पराअनुसार बडादसैँमा २७ पशु र छ राँगाको बलि दिइन्छ। भक्तजनका तर्फबाट समेत बलि दिँदा सङ्ख्या ६० सम्म पुग्ने गर्छ। चैतेदसैँमा २७ बलि दिने चलन छ। मन्दिर सञ्चालनमा बडादसैँमा पाँच लाख र चैतेदसैँमा दुई लाख ७० हजार रुपैयाँ खर्च हुने गरेको छ। परम्परागत विधि र स्थानीय जनविश्वाससँग जोडिएको यो पूजा आज पनि लमजुङको सांस्कृतिक पहिचानका रूपमा निरन्तर छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button