गड्डाचौकी नाकामा भारतबाट फर्किने यात्रुको स्वास्थ्य परीक्षण

ड्रागन मिडिया सम्वाददाता
दसैँ–तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको चाप बढेसँगै कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण थालिएको छ। सीमा नाकाको स्वास्थ्य सहायता कक्षमा मलेरिया, क्षयरोग, एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका सङ्क्रमणको जाँच भइरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टका अनुसार सङ्क्रमणको समयमै पहिचान गरी उपचार र फैलावट रोक्न नाकामै परीक्षण गरिएको हो। सङ्क्रमण पुष्टि भए अस्पतालमा निःशुल्क उपचार गरिने र टाढाका जिल्लाबाट आएका यात्रुका हकमा सम्बन्धित अस्पतालसँग समन्वय गरिने उनले बताए।
स्वास्थ्य कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकीमा ४ हजार ७ सय यात्रुको परीक्षण गरिएको छ। अहिलेसम्म दुई जनामा क्षयरोग पुष्टि भएको छ भने अन्य सङ्क्रमण भेटिएको छैन। मलेरिया र डेङ्गु फैलिएका क्षेत्रबाट आएका तथा ज्वरोका लक्षण देखिएका यात्रुलाई प्राथमिकताका साथ परीक्षण गरिँदै आएको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गड्डाचौकी नाका हुँदै दैनिक करिब २ हजार नेपाली स्वदेश फर्किरहेका छन्। यात्रुको सुरक्षा र सहजताका लागि जिल्ला प्रहरी कार्यालयले गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए। चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न सीमा क्षेत्रमा निगरानी पनि बढाइएको उनले जानकारी दिए।





