डोमिनिकन गणराज्यको दूरसञ्चार परियोजनामा अमेरिकी दबाबप्रति चीनको आपत्ति

ड्रागन मिडिया समाचार कक्ष
डोमिनिकन गणराज्यस्थित चिनियाँ दूतावासले त्यहाँको दूरसञ्चार परियोजनाबाट चिनियाँ उपकरण तथा प्रविधि हटाउन अमेरिकी राजदूतले दिएको दबाबप्रति कडा आपत्ति जनाएको छ।
अमेरिकी राजदूत लिया फ्रान्सिस काम्पोसले शुक्रबार भियतनामी दूरसञ्चार कम्पनी भिएटेललाई साइबर अपराधसम्बन्धी बुडापेस्ट महासन्धिका पक्ष राष्ट्रहरूको प्रविधि मात्र प्रयोग गर्न लगाउन डोमिनिकन सरकारलाई आग्रह गरेकी थिइन्।
त्यसको प्रतिक्रियामा चिनियाँ दूतावासले शनिबार वक्तव्य जारी गर्दै बुडापेस्ट महासन्धि साइबर अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यका लागि भएको र दूरसञ्चार उपकरण छनोटको मापदण्ड निर्धारणसँग यसको सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
दूतावासले चीन संयुक्त राष्ट्रसंघको साइबर अपराधविरुद्धको महासन्धिको हस्ताक्षरकर्ता रहेको तथा चिनियाँ दूरसञ्चार उपकरण डोमिनिकन गणराज्यसहित विश्वका एक सयभन्दा बढी देशमा सुरक्षित र भरपर्दो रूपमा सञ्चालन भइरहेको जनाएको छ।
डोमिनिकन गणराज्यको दूरसञ्चार बजारमा प्रतिस्पर्धा, लगानी र सम्पर्क सञ्जाल विस्तार गर्ने उद्देश्यले त्यहाँको सरकारले नोभेम्बर १६ मा भिएटेल र क्लारो डोमिनिकानासँग सम्झौता गरेको थियो। उक्त सम्झौताअन्तर्गत भिएटेलको वित्तीय प्रतिबद्धता १० करोड ७० लाख अमेरिकी डलर रहेको छ।
चीनको राजनीति तथा कानुन विश्वविद्यालयअन्तर्गत ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्र कानुन केन्द्रका निर्देशक पान देङले साइबर सुरक्षाको बहानामा ल्याटिन अमेरिकी बजारबाट चिनियाँ प्रविधिलाई विस्थापित गर्ने अमेरिकी प्रयास भूराजनीतिक स्वार्थबाट प्रेरित रहेको टिप्पणी गरेका छन्।
अमेरिकी राजदूत काम्पोसले भने आफ्नो अभिव्यक्ति हस्तक्षेप नभई मित्रवत सुझाव भएको दाबी गर्दै प्रविधिसम्बन्धी सुरक्षा चिन्ताले अमेरिकी लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने बताएकी छन्।
चिनियाँ दूतावासले प्रतिस्पर्धी प्रविधिमाथि प्रतिबन्ध लगाउँदा दूरसञ्चार सेवाको लागत बढ्ने, डिजिटल असमानता विस्तार हुने र सर्वसाधारणमाथि आर्थिक भार पर्ने चेतावनी दिएको छ।
दूतावासले वास्तविक मित्रता पारस्परिक सम्मानमा आधारित हुनुपर्ने र सार्वभौम राष्ट्रको स्वतन्त्र आर्थिक तथा प्राविधिक निर्णयमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।





