१४ मंसिर २०८३, आईतवार

१५ वर्षपछि सञ्चालनमा आउँदै कमला पुल, पुस पहिलो सातादेखि यातायात खुलाउने तयारी

ड्रागन मिडिया सम्वाददाता

सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीमाथिको पुल निर्माण शुरु भएको १५ वर्षपछि सञ्चालनमा आउने भएको छ। आगामी पुस पहिलो सातादेखि हलुका सवारीसाधन, मोटरसाइकल तथा पैदलयात्रीका लागि पुल खुला गर्ने तयारी गरिएको छ।

हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख इन्जिनियर कृष्णकुमार महतोका अनुसार पहुँच सडक निर्माण, पुलको सतह सुधार, रेलिङ जडान तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ।

विक्रम संवत् २०६८ मा पप्पु–लुम्बिनी जेभीले निर्माण ठेक्का पाएको पुल २०७८ असारमा उद्घाटन गर्ने तयारी भइरहेका बेला बाढीले पिलरमा क्षति पुर्‍याएपछि अलपत्र परेको थियो। त्यसपछि सोही निर्माण कम्पनीमार्फत पुनर्निर्माण अघि बढाइएको हो।

पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी वर्षौंदेखि डुङ्गामार्फत कमला नदी वारपार गर्न बाध्य छन्।

निर्धारित समयमा बाँकी काम सम्पन्न भए पुस पहिलो सातादेखि यातायात सञ्चालन हुनेछ। पुल सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय तथा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button