१४ मंसिर २०८३, आईतवार

एमसीसी परियोजनाको म्याद एक वर्ष थप्ने सरकारको निर्णय, बोर्डको स्वीकृति बाँकी

ड्रागन मिडिया सम्वाददाता

नेपाल सरकारले अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने निर्णय गरेको छ। म्याद थपसम्बन्धी प्रस्तावलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले स्वीकृति दिन भने बाँकी छ।

मन्त्रीपरिषदले परियोजनाको कुल लागत नबढ्ने शर्तमा म्याद थपसम्बन्धी प्रक्रिया अघि बढाउने अख्तियारी अर्थ मन्त्रालयलाई दिएको थियो। आगामी डिसेम्बरमा बस्ने एमसीसी सञ्चालक समितिको बैठकमा नेपालको औपचारिक प्रस्ताव पेश हुने अपेक्षा गरिएको छ।

सन २०२३ अगस्ट ३० देखि कार्यान्वयनमा आएको पाँचवर्षे परियोजना अमेरिकी वैदेशिक सहायताको पुनरावलोकन, प्राकृतिक विपद तथा ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण निर्धारित समयमा सम्पन्न हुन कठिन देखिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन २०२५ जनवरीदेखि वैदेशिक सहायताको पुनरावलोकन शुरु गरेपछि परियोजनाको काम करिब सात महिना प्रभावित भएको थियो। त्रिशूली नदीमा आएको बाढीले समेत निर्माण कार्यमा अवरोध पुर्‍याएको मन्त्रालयका श्रोतले जनाएका छन्।

विद्युत प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधारसम्बन्धी परियोजनाको कुल लागत ७४ करोड ७० लाख अमेरिकी डलर रहेको छ। यसमध्ये अमेरिकी सरकारको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदान रहेको छ।

परियोजनाअन्तर्गत न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाँकी २९७ किलोमिटर प्रसारण लाइन तीनवटा ठेक्कामार्फत निर्माण प्रक्रियामा छन्।

तनहुँको दमौली, नुवाकोटको रातमाटे र नवलपरासीमा ४०० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण तथा दाङमा पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि समेत ठेक्का सम्झौता भइसकेको छ।

एमसीसी सञ्चालक समितिले नेपालको प्रस्ताव स्वीकृत गरेमा परियोजनाको कार्यान्वयन अवधि सन २०२९ अगस्टसम्म विस्तार हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button