स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको माग

ड्रागन मिडिया सम्वाददाता
स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले स्थानीय तहमा सुशासन, प्रभावकारी सेवा प्रवाह र विकास सुनिश्चित गर्न गैरदलीय निर्वाचन प्रणाली अपनाउनुपर्ने माग गरेका छन्।
अभियानद्वारा आइतबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा धमलाले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताप्रति उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गरे।
उनले सन २०१५ मा संविधान जारी भएपछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि दलीय जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।
प्रधानमन्त्री बालेन्द्र शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको प्रमुख निर्वाचित भएको उदाहरण दिँदै धमलाले स्थानीय निर्वाचनलाई गैरदलीय बनाउने पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।
उनले रवि लामिछाने, गगन थापा, राजेन्द्र लिङ्देन, सीके राउत, रेशम चौधरी, हर्क साम्पाङ र कुलमान घिसिङलगायत राजनीतिक नेतृत्वसँग पनि यस विषयमा संवाद भइरहेको जानकारी दिए।
स्थानीय पूर्वाधार विकास, कृषि उत्पादन र पशुपन्छी पालनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिँदै धमलाले गैरदलीय निर्वाचनको अभियानमा सहयोग गर्न बुद्धिजीवी तथा नागरिक समाजलाई आग्रह गरेका छन्।





