कांग्रेसद्वारा जिल्ला र प्रदेश अधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न प्रस्तावित कार्यतालिका तयार गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
हिमाली क्षेत्रमा सम्भावित हिमपात र प्रतिकूल मौसमलाई ध्यानमा राखेर अधिवेशन अगाडि सारिएको हो। विशेष परिस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको परामर्शमा मिति हेरफेर गर्न सकिने व्यवस्था पनि राखिएको छ।
प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म फरक–फरक मितिमा सम्पन्न गर्ने तयारी गरिएको छ। सातवटै प्रदेशका अधिवेशनमा केन्द्रीय पदाधिकारीको सहभागिता सुनिश्चित गर्न अलग–अलग मिति निर्धारण गर्न लागिएको थापाले बताए।
गत असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न भए पनि केही जिल्ला र प्रदेशका अधिवेशन स्थगित भएका थिए। शेरबहादुर देउवा पक्षले मंसिरको अन्तिम साता छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेका बेला कांग्रेस नेतृत्वले बाँकी अधिवेशनको प्रक्रिया अघि बढाएको हो।
केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरी सोमबारसम्म अन्तिम कार्यतालिका सार्वजनिक गर्ने सभापति थापाले जानकारी दिएका छन्।
पन्ध्रौं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि कांग्रेसले देशभरका ७५३ स्थानीय तहमा ‘हामी तयार छौं’ अभियानसहित संगठन सुदृढीकरणलाई तीव्रता दिएको छ।





