महिला क्रिकेटमा सुदूरपश्चिमलाई सात विकेटले हराउँदै आर्मी फाइनलमा

ड्रागन मिडिया सम्वाददाता
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
मुगुमा आइतबार सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको आर्मीले सुदूरपश्चिमलाई ६९ रनमा सीमित गरेको थियो। ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरपश्चिमका लागि ऋतु अनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
आर्मीकी लक्ष्मी साउँदले चार ओभरमा १७ रन खर्चेर चार विकेट लिइन्। ईश्वरी विष्टले दुई तथा मनिषा उपाध्याय र संगीता गुरुङले एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा आर्मीकी कविता कुँवरले अविजित २० र लक्ष्मी साउँदले अविजित १८ रन बनाइन्। सम्झना खड्काले १६ र रुवि पोद्दारले १३ रनको योगदान दिए।
चार विकेट लिनुका साथै ११ बलमा अविजित १८ रन बनाएकी लक्ष्मी साउँद खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।





