बेइजिङको युवा उद्यमशीलता केन्द्रमा विदेशी कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय सहकार्यमा चासो

ड्रागन मिडिया समाचार कक्ष
चीनको राजधानी बेइजिङस्थित फेङताई जिल्लाको चिचियामियाओ युवा उद्यमशीलता केन्द्रको विदेशी कूटनीतिज्ञहरूले अवलोकन गर्दै नवप्रवर्तन, प्रविधि विकास तथा अन्तर्राष्ट्रिय उद्यमशीलता सहकार्यमा चासो व्यक्त गरेका छन्।
नोभेम्बर २५ मा केन्द्रको भ्रमण गरेका कूटनीतिज्ञहरूले थ्रीडी प्रिन्टिङ, कृत्रिम बुद्धिमत्ता, विद्युतीय सुरक्षा प्रणाली, सुगन्धयुक्त रेशमी कपडा तथा स्वास्थ्य निगरानीसम्बन्धी नवीन प्रविधिको अवलोकन गरेका थिए।
प्रदर्शनीमा आवाजबाट निर्देशन लिएर केही सेकेन्डमै चित्र तयार गर्ने कृत्रिम बुद्धिमत्तायुक्त उपकरण र ज्येष्ठ नागरिकको मुटुको धड्कन निगरानी गरी स्वास्थ्य जोखिमबारे सचेत गराउने प्रविधिसमेत प्रस्तुत गरिएको थियो।
पुराना औद्योगिक भवनलाई पुनः प्रयोग गरी स्थापना गरिएको उक्त उद्यमशीलता केन्द्रमा विभिन्न औद्योगिक पार्कसँगको सहकार्यबाट करिब ३२० नवप्रवर्तनशील उद्यम र दुई हजार आठ सयभन्दा बढी युवा व्यावसायिक जनशक्ति आकर्षित भएका छन्। दुई रुसी उद्यमीले समेत त्यहाँ आफ्नो नवउद्यम दर्ता गरेका छन्।
चीनस्थित कम्बोडियाली दूतावासका उपप्रमुख छेउन सोक्लाले कृत्रिम बुद्धिमत्ता, व्यापार तथा लगानीका क्षेत्रमा चिनियाँ र कम्बोडियाली युवा उद्यमीबीच सहकार्यको सम्भावना खोज्ने बताएका छन्।
पाकिस्तानी दूतावासका तृतीय सचिव मोहम्मद शाजले पुराना औद्योगिक क्षेत्रलाई सिर्जनशील तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने चीनको अभ्यास प्रशंसनीय रहेको बताउँदै पाकिस्तानी विद्यार्थी र नवउद्यमसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको ग्लोबल टाइम्सलाई बताएका छन्।
युवा उद्यमशीलता, शहरी पुनरुत्थान र प्राविधिक नवप्रवर्तनलाई एकीकृत गरेको उक्त केन्द्र अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यको साझा मञ्चका रूपमा विकास भइरहेको छ।





