चीनको अन्तरिक्ष केन्द्रमा पाकिस्तानी अन्तरिक्षयात्रीको पहिलो वैज्ञानिक प्रयोग सम्पन्न

ड्रागन मिडिया समाचार कक्ष
पाकिस्तानी अन्तरिक्षयात्री मोहम्मद जिसान अलीले चीनको तियानगोङ अन्तरिक्ष केन्द्रमा शनिबार प्रकाश संश्लेषण गर्ने सायनोब्याक्टेरियासम्बन्धी पहिलो वैज्ञानिक प्रयोग सम्पन्न गरेका छन्।
अली चिनियाँ अन्तरिक्षयात्री ताङ होङबो र वु यीसँगै शेन्झोउ–२४ अन्तरिक्षयानमार्फत बुधबार तियानगोङ पुगेका थिए। उनी चीनको अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री हुन्।
शेन्झोउ–२४ अभियानअन्तर्गत चीन र पाकिस्तानको सहकार्यमा सायनोब्याक्टेरिया, क्विनोआ अन्नबाली, ग्राफिन मिश्रित पदार्थ र कार्बन फाइबर मिश्रित पदार्थसम्बन्धी चारवटा वैज्ञानिक प्रयोग सञ्चालन गरिने सिन्ह्वाले जनाएको छ।
पाकिस्तानी वैज्ञानिकहरूले प्रयोगको प्रारूप र वैज्ञानिक उद्देश्य निर्धारण गरेका हुन् भने चिनियाँ पक्षले प्राविधिक तथा इन्जिनियरिङ सहयोग उपलब्ध गराएको छ।
अलीले वेन्तियान प्रयोगशाला खण्डमा बेइजिङस्थित चिनियाँ तथा पाकिस्तानी वैज्ञानिकहरूको समन्वयमा सायनोब्याक्टेरियाको वृद्धिसम्बन्धी अध्ययन गरेका हुन्।
कार्बनडाइअक्साइड अवशोषण गरी अक्सिजन उत्पादन गर्ने तथा उच्च गुणस्तरीय प्रोटिनयुक्त सायनोब्याक्टेरियालाई अन्तरिक्षमा आत्मनिर्भर जीवनरक्षक प्रणाली विकासका लागि महत्त्वपूर्ण मानिएको छ। यस अनुसन्धानले दीर्घकालीन अन्तरिक्ष अभियानमा मानव जीवनलाई आवश्यक अक्सिजन र पोषण उपलब्ध गराउने प्रणालीको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अली शेन्झोउ–२३ का अन्तरिक्षयात्री चाङ चियुआन र ली चियायिङसँगै पृथ्वी फर्कनेछन्। उनले थप वैज्ञानिक अध्ययनका लागि सायनोब्याक्टेरियाको पहिलो चरणको नमुनासमेत पृथ्वीमा ल्याउनेछन्।





