नेपालको सार्वभौम प्रतिष्ठामाथि प्रहार : विदेशी सञ्चारमाध्यमको भाष्य, दिल्लीको रणनीति र काठमाडौंको जवाफदेहिता

प्रेम सागर पौडेल
प्रधानमन्त्री बालेन्द्र शाहको सन २०२६ नोभेम्बर २२–२३ को भारत भ्रमणपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार तथा विश्लेषणले नेपालको राष्ट्रिय प्रतिष्ठा, आर्थिक कूटनीति र रणनीतिक स्वायत्तताबारे गम्भीर बहस सिर्जना गरेका छन्। विशेषतः बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले नेपालको विकास सहयोग प्राप्त गर्ने कूटनीतिक प्रयासलाई प्रस्तुत गर्दा प्रयोग गरेको अपमानजनक भाषाले अन्तर्राष्ट्रिय पत्रकारिताको व्यावसायिक मर्यादा र सार्वभौम राष्ट्रहरूप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएको छ।
सार्वभौम समानता र दोहोरो मापदण्ड
नोभेम्बर २६ मा द इकोनोमिस्टले ‘Nepal’s ex-rapper prime minister begs India for cash’ शीर्षकमा विश्लेषणात्मक सामग्री प्रकाशित गरेको थियो। अर्थात, नेपालका पूर्वर्यापर प्रधानमन्त्री भारतसँग पैसाको भीख माग्छन्। पछि पत्रिकाले ‘begs’ हटाएर ‘asks’ राखेको देखिन्छ। तर एउटा शब्द परिवर्तन गर्दैमा प्रारम्भिक प्रस्तुतिको अपमानजनक अर्थ र त्यसले नेपालको अन्तर्राष्ट्रिय छविमा पार्न सक्ने प्रभाव समाप्त हुँदैन।
नेपाल कुनै शक्तिशाली राष्ट्रको आश्रित प्रदेश होइन। संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २ ले सबै सदस्य राष्ट्रको सार्वभौम समानता सुनिश्चित गरेको छ। आर्थिक तथा सैन्य सामर्थ्यमा भिन्नता हुन सक्छ, सार्वभौमिकताको कानुनी हैसियतमा होइन।
भारत स्वयं विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट विकास ऋण प्राप्त गर्ने मुलुक हो। आर्थिक रूपमा कमजोर राष्ट्रले सहयोग प्राप्त गर्दा त्यसलाई भीख र शक्तिशाली राष्ट्रको त्यस्तै अभ्यासलाई विकास साझेदारी भन्ने भाषिक मापदण्डको औचित्य के हो?
पत्रकारिताको विश्वसनीयता शक्तिशालीप्रति सम्मान र कमजोरप्रति व्यंग्य गर्ने अभ्यासबाट स्थापित हुँदैन। आर्थिक कठिनाइ कुनै राष्ट्रको सार्वभौम प्रतिष्ठामाथि प्रहार गर्ने अनुमति होइन।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पृथक दृष्टिकोण
भारतीय सञ्चारमाध्यम द प्रिन्टले द इकोनोमिस्टको टिप्पणीलाई उद्धृत गरेको छ भने हिन्दुस्तान टाइम्सले त्यसलाई पुनर्प्रकाशित गरेको छ। यसरी एउटा प्रकाशनको भाष्य अन्य सञ्चारमाध्यम मार्फत विस्तार हुँदा त्यसले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा प्रभाव पार्न सक्छ।
तर सबै विदेशी सञ्चारमाध्यमको दृष्टिकोण समान छैन। रोयटर्सले नोभेम्बर २४ मा भारतीय आर्थिक सहयोगलाई नेपालमा चीनको बढ्दो प्रभावबीच आफ्नो प्रभाव पुनर्स्थापित गर्ने दिल्लीको अवसरका रूपमा विश्लेषण गरेको छ। फाइनान्सियल टाइम्सले पुनर्निर्माण, आर्थिक सहायता र द्विपक्षीय सम्बन्धलाई प्राथमिकता दिएको छ।
रुसको सरकारी समाचार संस्था तास र कोमर्सान्तले नोभेम्बर २३ मा भारतीय आर्थिक सहयोगलाई मुख्यतः विपदपछिको पुनर्निर्माणसँग जोडेर समाचार प्रकाशित गरेका छन्। रोसिस्काया गजेटाले आठवटा द्विपक्षीय सम्झौता, पूर्वाधार विकास, ऊर्जा सहकार्य र अझै समाधान हुन नसकेका हवाई प्रवेशमार्ग सम्बन्धी प्रश्नलाई महत्त्व दिएको छ।
जापानको माइनिची शिम्बुनले पुनर्निर्माण सहयोगसँगै नेपाललाई चीनको दक्षिण एसियाली प्रभाव विस्तार रोक्ने भारतको रणनीतिक मध्यवर्ती क्षेत्रका रूपमा व्याख्या गरेको छ। योमिउरी र सान्केई शिम्बुनले भने पुनर्निर्माण सहयोग तथा नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिएका छन्।
चिनियाँ भाषाको साउथ एसिया नेटवर्क टेलिभिजनले नोभेम्बर २८ को विश्लेषणमा शाहको भ्रमणलाई आर्थिक विकास केन्द्रित व्यावहारिक कूटनीतिक प्रयासका रूपमा प्रस्तुत गर्दै सीमा र सार्वभौमिकता सम्बन्धी मुद्दामा ठोस उपलब्धि हासिल नभएको औँल्याएको छ।
त्यसैगरी चीनको सीसीटीभीले नोभेम्बर २३ मा नेपालको विपदपछिको पुनर्निर्माणमा थप सहयोग गर्न बेइजिङ तयार रहेको चिनियाँ परराष्ट्र मन्त्रालयको धारणा प्रकाशित गरेको छ। चीनले यसअघि पाँच चरणमा आपत्कालीन राहत सामग्री, विशेषज्ञ सेवा तथा मौसम, जलविज्ञान र भूगर्भसम्बन्धी तथ्याङ्क उपलब्ध गराएको जनाएको छ।
यी पृथक प्रस्तुतिले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई आर्थिक आवश्यकता, विकास साझेदारी र भूराजनीतिक प्रतिस्पर्धाका फरक दृष्टिकोणबाट हेरिएको देखाउँछन्। तर नेपाललाई भारत र चीनबीचको प्रभाव प्रतिस्पर्धाको निष्क्रिय पात्र वा मध्यवर्ती क्षेत्रका रूपमा मात्र बुझ्नु नेपालको स्वतन्त्र रणनीतिक अस्तित्वलाई अवमूल्यन गर्नु हो।
नेपालले भारतसँग सम्बन्ध विस्तार गर्नु चीनबाट टाढिनु होइन। चीनसँग सहकार्य गर्नु भारतविरुद्ध उभिनु पनि होइन। नेपालको विदेश नीति छिमेकी राष्ट्रहरूको प्रतिस्पर्धाबाट होइन, आफ्नै राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ।
आर्थिक सहयोगको वास्तविकता
नोभेम्बर २३ को संयुक्त वक्तव्यअनुसार भारतले घोषणा गरेको २४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोगमध्ये ५६ अर्ब अनुदान र १८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सुविधा हो। अर्थात, कुल सहयोगको २३.३ प्रतिशत अनुदान र ७६.७ प्रतिशत ऋण हो।
यो रकम नेपालले प्राप्त गरिसकेको होइन। परियोजना छनोट र सहयोग परिचालनका प्रक्रिया निर्धारण हुन बाँकी छन्। ऋणको ब्याजदर, भुक्तानी अवधि, खरिद तथा ठेक्काका शर्त, विद्युतको बजार, परियोजनाको स्वामित्व र सञ्चालनमा नेपालको निर्णयाधिकारबारे सरकारले स्पष्ट जानकारी दिनुपर्छ।
सन २०१५ को भूकम्पपछिको भारतीय ऋण सुविधा परिचालनमा देखिएका कठिनाइबाट पनि नेपालले शिक्षा लिनुपर्छ। वैदेशिक सहयोगको मूल्य घोषणाको आकारले होइन, त्यसको आर्थिक प्रतिफल, कार्यान्वयन र राष्ट्रिय क्षमतामा पुग्ने योगदानले निर्धारण गर्छ।
भ्रमणका क्रममा आठवटा समझदारीपत्र आदानप्रदान हुनु तथा ऊर्जा, रेलमार्ग, पेट्रोलियम पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा सहकार्य विस्तार हुनु सकारात्मक उपलब्धि हो। तर यसको वास्तविक मूल्य कार्यान्वयनबाट प्रमाणित हुन बाँकी छ।
दिल्लीमा अनुत्तरित राष्ट्रिय मुद्दा
कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तासम्बन्धी सीमा प्रश्न, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, सन १९५० को सन्धि पुनरावलोकन, व्यापारिक अवरोध र अतिरिक्त हवाई प्रवेशमार्ग सम्बन्धी विषय अझै अनुत्तरित छन्।
काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भए पनि त्यसको प्राविधिक कार्यविधि निर्धारण हुन बाँकी छ। संयुक्त दृष्टिपत्रमा सन १९५० को सन्धिसहित विद्यमान सम्झौता पारस्परिक सहमतिमा पुनरावलोकन गर्न सकिने उल्लेख छ। सीमा समस्या समाधानको जिम्मेवारी परराष्ट्र सचिवहरूलाई दिइएको छ।
सिंगापुरको राष्ट्रिय विश्वविद्यालयअन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका अनुसन्धानकर्ता डा. अमित रञ्जनले नोभेम्बर २४ को विश्लेषणमा पनि भ्रमणका उपलब्धिसँगै समाधान हुन बाँकी द्विपक्षीय मुद्दालाई औँल्याएका छन्।
आर्थिक सहयोग र राष्ट्रिय अधिकार एकअर्काका विकल्प होइनन्। विकास सहयोगको आकारले सार्वभौमिकतासँग सम्बन्धित ऐतिहासिक प्रश्नको महत्त्व घटाउन सक्दैन।
विदेशी आलोचना र सरकारको जवाफदेहिता
द इकोनोमिस्टले प्रधानमन्त्री शाहको पहिरन, सांगीतिक पृष्ठभूमि र व्यक्तिगत शैलीसँगै शासन सञ्चालन, कानुनी प्रक्रिया र नेपाली सेनासँगको सम्बन्धबारे प्रश्न उठाएको छ।
राजनीतिक नेतृत्वको आलोचना पत्रकारिताको अधिकार हो। तर व्यक्तिगत व्यंग्य गम्भीर राजनीतिक विश्लेषणको विकल्प हुन सक्दैन। त्यसैगरी विदेशी सञ्चारमाध्यमको आपत्तिजनक भाषा देखाएर सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न पनि मिल्दैन।
भ्रष्टाचारविरुद्धको अभियानले विधिको शासनलाई बलियो बनाउनुपर्छ। नागरिक अधिकार, प्रेस स्वतन्त्रता, न्यायिक मर्यादा र सेनामाथिको लोकतान्त्रिक नागरिक नियन्त्रण सुनिश्चित हुनुपर्छ। राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु र सरकारलाई जवाफदेही बनाउनु परस्पर विरोधी विषय होइनन्।
यस घटनाले नेपालको अन्तर्राष्ट्रिय सञ्चार कूटनीतिको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली दूतावासहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीको नियमित अध्ययन, तथ्यगत त्रुटिको खण्डन र नेपालको आधिकारिक दृष्टिकोण प्रस्तुत गर्ने संस्थागत क्षमता विकास गर्नुपर्छ।
बेलायतस्थित नेपाली दूतावासले द इकोनोमिस्टसँग प्रारम्भिक शीर्षकको सम्पादकीय आधारबारे स्पष्टीकरण माग्न सक्छ। तर प्रमाणविना उक्त प्रस्तुतिलाई विदेशी सरकारद्वारा निर्देशित अभियान ठहर्याउनु पनि उचित हुँदैन।
निष्कर्ष
नेपालको राष्ट्रिय प्रतिष्ठा विदेशी पत्रिकाको प्रशंसा, दिल्लीको आतिथ्य वा वैदेशिक सहयोगको रकममा निर्भर हुनु हुँदैन। यसको वास्तविक आधार आर्थिक आत्मनिर्भरता, सक्षम राज्यसंयन्त्र, पारदर्शी शासन, सन्तुलित कूटनीति र स्वतन्त्र निर्णयाधिकार हो।
भारत नेपालको मित्रराष्ट्र हो, संरक्षक होइन। चीन नेपालको मित्रराष्ट्र हो, विकल्पहीन आश्रयदाता होइन। बेलायत नेपालको ऐतिहासिक मित्रराष्ट्र हो, नेपालको राष्ट्रिय प्रतिष्ठा निर्धारण गर्ने अधिकारी होइन।
विदेशी सञ्चारमाध्यमलाई नेपालको आलोचना गर्ने स्वतन्त्रता छ, तर अपमानजनक प्रस्तुतिको तथ्यपरक प्रतिवाद गर्ने अधिकार नेपालीलाई पनि उत्तिकै छ। सरकारले वैदेशिक सहयोग जुटाउन सक्छ, तर त्यसका प्रत्येक शर्त र राष्ट्रिय प्रभावबारे जनतासमक्ष जवाफ दिनुपर्छ।
नेपाल सहयोग स्वीकार गर्छ, स्वाभिमान सुम्पँदैन। नेपाल मित्रता चाहन्छ, अधीनता होइन।
प्रमुख अनुसन्धान श्रोतहरू :
१) द इकोनोमिस्ट, २६ नोभेम्बर; हिन्दुस्तान टाइम्समा पुनर्प्रकाशित संस्करण, २७ नोभेम्बर २०२६।
२) रोयटर्स र फाइनान्सियल टाइम्स, २३–२४ नोभेम्बर २०२६।
३) तास, कोमर्सान्त र रोसिस्काया गजेटा, रुस, २३ नोभेम्बर २०२६।
४) माइनिची शिम्बुन, सान्केई शिम्बुन र योमिउरी शिम्बुन, जापान, २३–२४ नोभेम्बर २०२६।
५) सीसीटीभी तथा चिनियाँ परराष्ट्र मन्त्रालय, २३ नोभेम्बर २०२६।
६) साउथ एसिया नेटवर्क टेलिभिजन, २३, २४ र २८ नोभेम्बर २०२६।
७) नेपाल–भारत संयुक्त वक्तव्य तथा संयुक्त दृष्टिपत्र, २३ नोभेम्बर २०२६।
८) दक्षिण एसियाली अध्ययन संस्थान (ISAS), सिंगापुरको राष्ट्रिय विश्वविद्यालय, २४ नोभेम्बर २०२६।
९) संयुक्त राष्ट्रसंघको बडापत्र, धारा २।
लेखक परिचय
प्रेम सागर पौडेल वरिष्ठ पत्रकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र सार्वजनिक नीति विश्लेषक हुन्। उनी द वर्ल्ड एण्ड चाइना इन्स्टिच्युट (WCI) अन्तर्गत दक्षिण एसियाली अध्ययन केन्द्रका उपकार्यकारी निर्देशक तथा वरिष्ठ अनुसन्धान फेलो र नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष हुन्। उनी एसिया रिभ्युका स्तम्भकारसमेत हुन्। उनका अनुसन्धानका प्रमुख क्षेत्र भूराजनीति, नेपालको वैदेशिक व्यापार नीति तथा बहुपक्षीय शासन संयन्त्र हुन्।





