२९ आश्विन २०८३, बिहीबार

चीनमा प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात विश्वमै दोस्रो ठूलो

ड्रागन मिडिया समाचार कक्ष

चीनमा प्रत्यक्ष वैदेशिक लगानीको इक्विटी मौज्दात सन् २०२५ मा २६.८ खर्ब युआन पुगेको छ। यो करिब ३.९८ खर्ब अमेरिकी डलर बराबर हो। चीनको वाणिज्य मन्त्रालयका अनुसार, यो विश्वकै दोस्रो ठूलो मौज्दात हो र लगातार छ वर्षदेखि बढिरहेको छ।

मन्त्रालय तथा अन्य सरकारी निकायले सङ्कलन गरेको विवरणअनुसार, गत वर्ष चार लाख ६१ हजार विदेशी लगानीका उद्यमले वार्षिक प्रतिवेदन बुझाएका थिए। यो सन् २०२४ को तुलनामा ५.७ प्रतिशत बढी हो।

मन्त्रालयका प्रवक्ता ह याडोङले चीनको विशाल बजारले विदेशी व्यवसायलाई प्रत्यक्ष आर्थिक लाभका अवसर दिने बताए। चीनमा आफ्नो उपस्थिति विस्तार गरी विकासका अवसरमा सहभागी हुन चाहने विदेशी कम्पनीलाई स्वागत गरिने उनले बताए।

प्रतिवेदन बुझाउने कम्पनीको औसत नाफा दर सन् २०२५ मा ८.७ प्रतिशत थियो। उत्पादन क्षेत्रमा विदेशी लगानीका उद्यमको नाफा दर चीनका ठूला औद्योगिक उद्यमको भन्दा २.२ प्रतिशत बिन्दुले बढी रहेको विवरणमा उल्लेख छ।

गत वर्ष ती उद्यमले चीनको कुल वस्तु व्यापारको एकतिहाइ हिस्सा ओगटेका थिए र देशको कुल कर राजस्वको सातमध्ये एक हिस्सा बुझाएका थिए। साथै, पछिल्ला पाँच वर्षमा उनीहरूले वार्षिक औसत तीन करोडभन्दा बढी रोजगारी सिर्जना गरेको मन्त्रालयले जनाएको छ।

उच्च प्रविधि क्षेत्र चीनमा विदेशी लगानीको प्रमुख आकर्षण बनेको छ। सरकारी तथ्याङ्कअनुसार, यस वर्षको पहिलो आठ महिनामा उक्त क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको सोही अवधिभन्दा ३५.१ प्रतिशत बढेर दुई खर्ब २६ करोड युआन पुगेको छ।

विदेशी लगानी स्थिर राख्न र उन्नत तथा उच्च मूल्य अभिवृद्धि हुने क्षेत्रमा लगानी आकर्षित गर्न चीनले प्रयास बढाएको छ। यस वर्ष जुनमा सार्वजनिक गरिएको १५ बुँदे कार्ययोजनाले बजार पहुँच विस्तार, लगानी प्रक्रिया सरल बनाउने, लगानी प्रवर्द्धन र विदेशी लगानीकर्तालाई दिइने सेवा सुधार गर्ने लक्ष्य राखेको छ।

विदेशी लगानी प्रोत्साहित गर्ने उद्योगको नयाँ सूची फेब्रुअरी १ देखि लागू भएको छ। यसले उन्नत उत्पादन, आधुनिक सेवा, उच्च प्रविधि, ऊर्जा बचत र वातावरण संरक्षणका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्छ। चीनका मध्य, पश्चिमी तथा उत्तरपूर्वी क्षेत्रतर्फ लगानी आकर्षित गर्नु पनि सूचीको उद्देश्य हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button