बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

ड्रागन मिडिया सम्वाददाता
वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः शुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल बढ्न थालेको छ। मनसुन सकिएपछि निकुञ्जका कच्ची बाटो मर्मत गरी पर्यटकका लागि सफारी खुला गरिएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले बताए।
चौधरीका अनुसार जैविक विविधताले भरिपूर्ण बाँके राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण चार सिङ भएको मृग चौसिङ्गा हो। निकुञ्जमा पाटेबाघ, हात्ती, गैँडा, चितुवा र विभिन्न प्रजातिका चराचुरुङ्गी पनि देख्न सकिन्छ।
पर्यटक आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले एक हजार रुपैयाँको विशेष प्याकेज सार्वजनिक गरेका छन्। कम खर्चमा जङ्गल सफारी र वन्यजन्तु अवलोकन गर्न सकिने यो प्याकेजले आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी युवा र मध्यमवर्गीय यात्रुलाई आकर्षित गरिरहेको चौधरीले बताए।
वर्षायामपछि जङ्गल हरियाली र ताजा हावाले रमणीय बनेको तथा सफारी पुनः शुरु भएपछि पर्यटकको आगमन बढэж गएको उनले बताए. स्थानीय व्यवसायी पर्यटकलाई परिकार र संस्कृतिमार्फत स्वागत गर्न तयार रहेको उनको भनाइ छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले पश्चिम नेपालमा प्रकृति र साहसिक यात्रामा रुचि राख्नेका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली आकर्षक गन्तव्य बनेको बताए। उनका अनुसार हिउँदको खुला मौसममा जङ्गलका दृश्य र वन्यजन्तुको गतिविधि नियाल्दै सफारी गर्न सकिन्छ।
निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १ हजार ४६६ पर्यटक बाँके राष्ट्रिय निकुञ्ज पुगेका थिए। अघिल्लो आर्थिक वर्षमा ६२० र आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटक आएका थिए। पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय गरी विशेष योजना अघि बढाइएको उनले बताए।





