१२ कार्तिक २०८३, बुधबार

कीटजन्य रोगको जोखिम बढ्दो, रोकथाममा बजेट र सचेतनाको कमी

ड्रागन मिडिया सम्वाददाता

स्क्रब टाइफस, डेङ्गु र जापानी इन्सेफलाइटिसजस्ता रोगको सङ्क्रमण देखिइरहँदा रोकथाम र नियन्त्रणका लागि पर्याप्त बजेट तथा जनचेतना आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।. जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण र पानी जम्ने ठाउँका कारण रोग सार्ने कीरा तथा लामखुट्टेको वासस्थान बढ्न सक्ने उनीहरूको भनाइ छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको उपलब्ध विवरणअनुसार नेपालमा ११ हजार ४० जनामा स्क्रब टाइफस र ६ हजार १९२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। डेङ्गुका कारण तीन जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। स्क्रब टाइफस ७४ जिल्लामा फैलिएको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ३ हजार ६६ सङ्क्रमित छन् भने जिल्लागत रूपमा दाङमा ६५८ जना सङ्क्रमित भेटिएका छन्।

डेङ्गुका सङ्क्रमितमध्ये गण्डकी प्रदेशमा २ हजार ६९७ जना छन्। बागलुङमा सबैभन्दा धेरै १ हजार ५२२ जनामा सङ्क्रमण देखिएको छ। जापानी इन्सेफलाइटिससम्बन्धी अक्टोबर १ सम्मको विवरणअनुसार ३७ जिल्लाका ९० स्थानीय तहमा १३१ जनामा सङ्क्रमण पुष्टि भएको र २८ जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएको र मृत्यु भएका सबैले खोप नलगाएको विवरणमा जनाइएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जुनोटिक तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. अमृत पोखरेलले जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणले रोगको जोखिम बढाउन सक्ने बताए। ज्वरो वा अन्य लक्षण देखिएपछि बेवास्ता नगरी समयमै स्वास्थ्य संस्था जान र जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ।

स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य सेवा प्रशासक गोकर्ण दाहालले रोग रोकथामको जिम्मेवारी सङ्घीय सरकारमा मात्र सीमित नहुने बताए। प्रदेश र स्थानीय सरकारले पनि पर्याप्त बजेट छुट्याएर रोकथाम तथा नियन्त्रणका काम गर्नुपर्ने उनको सुझाव छ।

स्क्रब टाइफस सङ्क्रमित सूक्ष्म किराको लार्भाको टोकाइबाट सर्न सक्छ। झाडी, घाँस, खेतबारी वा जङ्गलमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन, वरपरको झाडी सफा राख्न र मुसा नियन्त्रणमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाएका छन्। अचानक उच्च ज्वरो आउने, टाउको वा शरीर दुख्ने, टोकेको ठाउँमा कालो दाग वा घाउ देखिने लक्षण भएमा स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ।

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइ रोक्ने उपाय अपनाउन र घरवरपर पानी जम्न नदिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। पेटमा अत्यधिक दुखाइ, बारम्बार बान्ता, सास फेर्न कठिनाइ, नाक वा गिजाबाट रगत बग्ने तथा असाध्यै थकाइ महसुस हुने जस्ता गम्भीर लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ।

जापानी इन्सेफलाइटिसविरुद्धको नियमित खोप १२ महिनाका बालबालिकालाई दिइन्छ। खोप छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म लगाउन सकिने व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट बच्ने र घरवरपरको सरसफाइमा ध्यान दिने उपाय पनि आवश्यक छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button