सञ्चारकर्ममा अवरोध हुन नदिने प्रहरी प्रतिबद्धता जनाइरहेको छ : महानिरीक्षक कार्की

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सञ्चारकर्मीको काममा कुनै पनि प्रकारको बाधा नपुगोस् भन्नेमा प्रहरी दृढ रहेको बताएका छन्। उनले निष्पक्ष, तथ्यपूर्ण र साहसिक पत्रकारिताको अपेक्षा गर्दै विपद् जोखिम न्यूनीकरणमा प्रहरी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले वर्षा र सम्भावित हावाहुरीबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। संवेदनशील समयमा नागरिकलाई सही सूचना समयमै पुर्याएर सम्भावित क्षति कम गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
कार्कीले सञ्चारकर्मीलाई काममा सहजीकरण गर्न नेपाल प्रहरी हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।
महानिरीक्षकको भनाइ सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको र सोधपुछ गरेको घटनापछि आएको हो। घटनाको विरोधमा पत्रकार महासङ्घले शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। विभिन्न सञ्चारकर्मी र राजनीतिक दलका नेताले प्रहरीको कदमलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आलोचना गरेका छन्।





