पत्रकारमाथिको धरपकडमा छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड र सोधपुछबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टीले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र परिणाम देखिने गरी शीघ्र काम गर्न पनि भनेको छ।
शनिबार बसेको रास्वपा सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको धरपकड र पक्राउका घटना गलत भएको बताए। घटनामा को संलग्न थियो र किन त्यस्तो गतिविधि भयो भन्नेबारे छानबिन हुनुपर्ने उनको भनाइ छ।
रास्वपाले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको पक्षमा आफू स्पष्ट रहेको जनाएको छ। प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता नहुने बताउँदै पार्टीले सञ्चारमाध्यमलाई राज्यको चौथो अंगका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ।
“समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा पत्रकारले यस्तो स्थिति भोग्नु हुँदैन,” खरेलले भने। प्रेस स्वतन्त्रता हनन र पत्रकारमाथिको धरपकडका घटना फेरि दोहोरिन नहुने उनको भनाइ छ।





