अधिकारीलाई प्रहरीमार्फत प्रधानमन्त्री कार्यालय पुर्याएको भोलिपल्ट सुनकोशी–मरिनको ठेक्का रद्द

ड्रागन मिडिया सम्वाददाता
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल संरचना तथा सम्बन्धित निर्माण कार्यको ठेक्का रद्द गरेको छ। आयोजना निर्देशक कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले काठमाडौं ल्याएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपस्थित गराएको भोलिपल्ट शुक्रबार ठेक्का रद्द सम्बन्धी सूचना सार्वजनिक भएको हो।
आयोजनाले जुन ८, २०२६ मा निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) उल्लेख गर्दै ठेक्का रद्द गरिएको सूचनामा त्यसको कारण भने खुलाइएको छैन।
आयोजनाको प्रगतिबारे बुझ्न प्रधानमन्त्री कार्यालयले दुवै अधिकारीलाई बोलाएको जनाएको छ। कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरिएको थिएन; आयोजनाका केही विषयमा जानकारी लिन उपस्थित गराइएको थियो। उनीहरू सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई पत्राचार गरिएको कार्यालयका एक अधिकारीले बताएका थिए।
प्रहरी स्रोतले भने दुवैलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्याइएको जनाएको थियो। ठेक्का रद्द र अधिकारीहरूलाई प्रहरीमार्फत कार्यालयमा उपस्थित गराइएको घटनाक्रमले आयोजनाको खरिद प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे प्रश्न उठाएको छ।





