१६ कार्तिक २०८३, आईतवार

पाँच ओभरको खेलमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। वर्षाले मैदान ओसिलो भएपछि खेल पाँच–पाँच ओभरमा सीमित गरिएको थियो।

ओसिलो मैदानमा खेल्न सुदूरपश्चिमले सुरुमा आनाकानी गरेको थियो। नेपाल क्रिकेट संघका अधिकारी र खेलाडीबीच लामो छलफलपछि तथा दर्शकको हुटिङका बीच टोली खेल्न तयार भएको थियो।

पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा एक सय पाँच रन बनाउँदै सुदूरपश्चिमलाई एक सय छ रनको लक्ष्य दिएको थियो। शेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्कासहित ३९ रन बनाए। लोकेश बम १० बलमा २५ रनसहित अविजित रहे भने आन्द्रे रसेलले १० बलमा अविजित २९ रन जोडे।

जवाफी ब्याटिङमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। स्कट कुगेलाइनले छ बलमा २८ रन बनाए। साइफ जैब र आरिफ शेखले समान १७ रन जोडे।

अघिल्ला दुई खेलमा पराजित विराटनगरले तेस्रो खेलमा दुई अंक जोडेको छ। यो जितसँगै टोलीको प्लेअफ पुग्ने सम्भावना कायम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button