मुस्ताङ भन्सारको राजस्व साढे तीन महिनामै वार्षिक लक्ष्यभन्दा बढी

ड्रागन मिडिया सम्वाददाता
मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्य पार गरेको छ। कार्यालयले साउनदेखि कात्तिक १३ गतेसम्म ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि कार्यालयको राजस्व सङ्कलन लक्ष्य नौ अर्ब रुपैयाँ थियो। सङ्कलित राजस्व लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी हो।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार उक्त अवधिमा कोरला नाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ मूल्यका वस्तु आयात भएका छन्। नेपालबाट भने २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्।
यस अवधिमा चीनबाट ल्याइएका छ हजार ५०१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको कार्यालयले जनाएको छ। असोज २७ गतेसम्म तीन हजार ९२६ विद्युतीय सवारी भित्रिएका थिए। दशैँपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा सवारीको जाँचपास भएको सिंहले बताए।
दशैँअघि कार्यालयले आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। दशैँपछि थप तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ सङ्कलन भएको सिंहले जानकारी दिए। दशैँअघि कोरला नाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँका चिनियाँ वस्तु आयात भएकामा दशैँपछि थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ मूल्यका वस्तु भित्रिएका थिए।
रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट हुने आयात–निर्यात बढेको भन्सार कार्यालयको भनाइ छ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि मार्ग परिवर्तन गरेर सयौँ मालवाहक कन्टेनर कोरला नाकाबाट भित्रिएको जनाइएको छ।
चीनबाट तयारी पोसाक, सौन्दर्य सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्वका सामग्री र विद्युतीय सवारीसाधन कोरला नाकाबाट नेपाल ल्याइँदै आएको छ। गत वर्ष मुस्ताङ भन्सार कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। नेपाल–चीन उत्तरी कोरला नाका सरकारले गत वर्ष भदौ ३१ गते पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।





