कांग्रेसको नयाँ कार्यसमितिको योजना : गुमेको मत फर्काउने र उम्मेदवार स्थानीय तहबाट छान्ने

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीको गुमेको जनमत फर्काउने, नेताहरूलाई जिल्लामा खटाउने र आगामी निर्वाचनको तयारी गर्ने योजना अघि सारेको छ। सभापति गगन थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मेवारीसहित तोकिएका क्षेत्रमा गएर काम गर्न निर्देशन दिएका छन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकमा थापाले नेताहरूलाई चार महिनासम्म तोकिएको क्षेत्रमा खटिएर पार्टीले दिएको जिम्मेवारी पूरा गर्न र त्यसको प्रतिवेदन बुझाउन भनेका थिए। केन्द्रीय सदस्य अंशुल केसीका अनुसार सभापतिले नेताहरूलाई घुम्न मात्र नभई तोकिएको काम पूरा गर्न क्षेत्रमा जान निर्देशन दिएका हुन्।
थापाले कात्तिक १० गते पोखरामा भएको कार्यक्रममा पनि केन्द्रीय सदस्यलाई काठमाडौँमा सीमित नराखी गाउँगाउँमा पठाउने बताएका थिए। गत फागुनको निर्वाचनमा कांग्रेसलाई मत नदिएका समर्थकसँग संवाद गरी उनीहरूलाई पार्टीसँग पुनः जोड्न मंसिरभर अभियान सञ्चालन गर्ने उनको योजना छ।
सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार पार्टीले गुमेको १० लाख मत फर्काउने लक्ष्यसहित पदाधिकारी र केन्द्रीय सदस्यलाई जिल्लाजिल्लामा खटाउने तयारी गरेको छ। केन्द्रीय सदस्यले आफूले काम गर्न चाहेको जिल्ला, गाउँपालिका वा नगरपालिकासहितको कार्ययोजनापत्र पार्टी कार्यालयमा बुझाउनुपर्नेछ। केन्द्रीय कार्यालयमा निर्वाचनसम्बन्धी काम, भ्रातृ संस्था वा शुभेच्छुक संस्थामा काम गर्न चाहनेले पनि आफ्नो रुचि खुलाउनुपर्नेछ।
कांग्रेसले स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवार छनोटमा सम्बन्धित तहलाई भूमिका दिने तयारी गरेको छ। थापाका अनुसार उम्मेदवार केन्द्रबाट छानिने छैनन्; जुन तहको निर्वाचन हो, त्यही तहका नेता तथा कार्यकर्ताले उम्मेदवार तय गर्नेछन्। पार्टीको विधानमा पनि उम्मेदवार छनोटसम्बन्धी व्यवस्था रहेको उनले बताएका छन्।
पार्टीले निर्वाचनका लागि जनमतको अध्ययन र आन्तरिक आकलन गर्ने योजना बनाएको छ। सहमहामन्त्री रसाइलीका अनुसार त्यसबाट प्राप्त प्रतिवेदनका आधारमा बलियो जनसमर्थन भएका व्यक्तिलाई उम्मेदवार बनाइनेछ। पार्टी पदमा रहेका व्यक्तिको पक्षमा जनमत नदेखिए सक्रिय सदस्यले समेत उम्मेदवारीको अवसर पाउन सक्ने उनले बताए।
सभापति थापाको अर्को प्राथमिकता केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनु हो। संशोधित विधानअनुसार सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्छन्। केन्द्रीय सदस्यमध्येबाट चार सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र एक सहप्रवक्ता पनि मनोनीत गर्न सकिने व्यवस्था छ। विधानले दुई महिनाभित्र मनोनयन गर्नुपर्ने भने पनि सकेसम्म चाँडै पदपूर्ति गरेर नेताहरूलाई जिम्मेवारी दिने तयारी रहेको सहमहामन्त्री रसाइलीले बताए।
कार्यसमितिले पूर्णता पाएपछि नेतृत्वविहीन भ्रातृ संस्थाका अधिवेशन गराउने कांग्रेसको योजना छ। पार्टीका आगामी कार्यक्रम स्थानीय तह र प्रदेश सभा निर्वाचन केन्द्रित हुनेछन्। स्थानीय तहका पदाधिकारीको कार्यकाल वैशाखसम्म र प्रदेश सभा सदस्यको कार्यकाल २०८४ मंसिरसम्म रहेकाले निर्वाचनको तयारीलाई प्राथमिकता दिइने रसाइलीले बताए। निर्वाचनको तयारीसँगै समुदाय केन्द्रित कार्यक्रम पनि सञ्चालन गर्ने पार्टीको योजना छ।





