पत्रकार पक्राउका लागि २८ जनाको सूची प्रधानमन्त्री कार्यालयबाट गएको नयाँ पत्रिकाको दाबी

ड्रागन मिडिया सम्वाददाता
नयाँ पत्रिकाले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले प्रहरीलाई २८ पत्रकारको नाम पठाएको र छलफलपछि सातजनालाई पक्राउ गर्न निर्देशन दिएको दाबी गरेको छ। पत्रिकाका अनुसार प्रहरीले शुक्रबार तीन पत्रकारलाई पक्राउ गरेको थियो। उनीहरूलाई केही घण्टापछि रिहा गरिएको थियो।
पत्रिकाले प्रहरी स्रोतलाई उद्धृत गर्दै पक्राउ गरिएका पत्रकारसँगै उनीहरूका विद्युतीय उपकरण नियन्त्रणमा लिएर समाचारका स्रोत पहिचान गर्ने योजना रहेको जनाएको छ। नेपाल प्रेसका विश्वमणि सुवेदी, डिएनए खबरका धीरज बस्नेत र मोटिभेट न्युजका शुभराज बराल पक्राउ परेका थिए। नयाँ पत्रिका र दियोपोस्टको कार्यालयमा पनि प्रहरी पुगेको पत्रिकाको दाबी छ।
पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले शुक्रबार जारी गरेको वक्तव्यमा प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री कार्यालयको संलग्नता नरहेको तथा घटनाबारे पूर्वजानकारी नभएको जनाएको थियो।
तर प्रहरी प्रवक्ता अविनारायण काफ्लेले प्रहरीका प्रवक्ताहरूको समूहमा सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाएर सोधपुछ गरिएको उल्लेख थियो। प्रहरीले नेपाल प्रहरीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचार तथा सन्देशको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको जनाएको थियो।
पत्रकारलाई नियन्त्रणमा लिन सञ्चारमाध्यमका समाचारकक्षमा प्रहरी प्रवेश गरेको भन्दै सञ्चारकर्मी, कानुन व्यवसायी र विपक्षी दलहरूले विरोध गरेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घटनालाई गलत भन्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ। नेपाल पत्रकार महासङ्घको नेतृत्वमा श्रमजीवी पत्रकारहरूले शनिबार माइतीघरमा विरोध प्रदर्शन गरेका थिए।
नयाँ पत्रिकाले सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया इनम सापकोटाबीचको ह्वाट्सएप संवाद सार्वजनिक गरेपछि समाचारको स्रोत खोज्न प्रहरी पत्रिकाको कार्यालय पुगेको समाचारमा उल्लेख छ।
नेपालको संविधानको धारा १९ ले सञ्चारमाध्यम तथा सामग्री जफत गर्न रोक लगाएको र सूचनाको हकसम्बन्धी ऐनले समाचारको स्रोत गोप्य राख्ने अधिकार पत्रकारलाई दिएको समाचारमा उल्लेख गरिएको छ।





