१८ कार्तिक २०८३, मंगलवार

बागलुङमा १५ बेलिब्रिज निर्माण गर्ने तयारी

ड्रागन मिडिया सम्वाददाता

गण्डकी प्रदेश सरकारले बागलुङका ग्रामीण सडकमा वर्षायाममा हुने आवागमन समस्या कम गर्न १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ। पक्की पुल नहुँदा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने समस्या छ।

चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनका अनुसार प्रत्येक पुलका लागि ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ। यसअनुसार १५ पुलका लागि कुल ६ करोड रुपैयाँ छुट्याइएको छ।

पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन, सर्वेक्षण, डिजाइन र लागत अनुमान तयार गर्ने काम भइरहेको छ। ती काम पूरा भएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ। सबै पुलको निर्माण यसै वर्ष एकैसाथ सुरु गर्ने तयारी भए पनि लागतअनुसार दुईदेखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री शेरचनले बताए।

प्रदेश सरकारले ४० मिटरसम्म लम्बाइ र अधिकतम चार करोड रुपैयाँ लागतका पुल निर्माण गर्ने नीति लिएको छ। बागलुङ पूर्वाधार विकास कार्यालयका प्रमुख अनुप थापाका अनुसार पुल बनेपछि जिल्लाका ग्रामीण सडकलाई प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोड्न सहज हुनेछ।

योजनामा निसीखोला, ढोरपाटन, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला, तमानखोला र बडिगाड गाउँपालिकाका विभिन्न स्थान समेटिएका छन्। अहिले प्रस्तावित पुलस्थलको सर्वेक्षण भइरहेको कार्यालयले जनाएको छ।

बेलिब्रिज बनेपछि वर्षायाममा खोलाको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या घट्ने र ग्रामीण क्षेत्रका बासिन्दालाई वर्षैभरि यातायात सेवा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button