फिक्ट्सको आयोगमा टीएस ठकुरी नियुक्त

ड्रागन मिडिया सम्वाददाता
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स (फिक्ट्स) को आयोगमा नियुक्त भएका छन्।
इटालीको मिलानमा सम्पन्न फिक्ट्सको ४१औँ महासभाले कार्यसमितिको प्रस्ताव अनुमोदन गर्दै ठकुरीलाई चार वर्षका लागि कमर्सियल पार्टनरसिप तथा ब्रोडकास्टिङ सर्भिसेज कमिसनमा नियुक्त गरेको हो। खेलकुदसम्बन्धी वृत्तचित्रको फिक्ट्स वर्ल्ड फेस्ट र महासभा अक्टोबर ३० देखि नोभेम्बर २ सम्म आयोजना भएको थियो।
खेल पत्रकारिता, पुस्तक लेखन र वृत्तचित्र निर्माणमा सक्रिय ठकुरी फिक्ट्सका नेपाल प्रतिनिधिका रूपमा पनि कार्यरत छन्। उनी विश्व म्याराथन तथा दूरी दौडको छाता संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) का नेपाल प्रतिनिधिसमेत हुन्।





