चीनले सेयर बजारका लागि तेस्रो स्वाप सुविधा सञ्चालन गर्ने

ड्रागन मिडिया समाचार कक्ष
चीनको केन्द्रीय बैंकले पुँजी बजारलाई स्थिर र स्वस्थ राख्ने प्रयासस्वरूप मंगलबार सेयर, कोष तथा बीमा कम्पनीका लागि स्वाप सुविधाको तेस्रो चरण सञ्चालन गर्ने भएको छ। यस सुविधाका लागि ३१ धितोपत्र कम्पनी र कोष व्यवस्थापकले आवेदन दिएका छन्। उनीहरूको कुल माग एक खर्ब युआनभन्दा बढी रहेको केन्द्रीय बैंकले जनाएको छ।
स्वाप सुविधा एक वर्षका लागि हुनेछ र आवश्यकताअनुसार अवधि थप्न सकिनेछ। यसअन्तर्गत योग्य सम्पत्ति साटेर वित्तीय संस्थाले बढी तरल सम्पत्ति प्राप्त गर्न सक्छन्, जसलाई वित्त जुटाउन र सेयर बजारमा लगानी गर्न प्रयोग गर्न सकिन्छ।
चीनको केन्द्रीय बैंक, राष्ट्रिय वित्तीय नियमन प्रशासन र धितोपत्र नियामक निकायले सेयर पुनर्खरिद तथा थप सेयर खरिदका लागि दिइने पुनःकर्जा कार्यक्रमलाई अस्थायी व्यवस्थाबाट दीर्घकालीन संस्थागत व्यवस्थामा रूपान्तरण गर्ने निर्णय पनि गरेका छन्। उक्त पुनःकर्जाको ब्याजदर १.२५ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिनेछ।
केन्द्रीय बैंकका अनुसार स्वाप सुविधाको हालको बक्यौता एक खर्ब पाँच अर्ब युआन छ। सेयर पुनर्खरिद तथा थप सेयर खरिदका लागि हस्ताक्षर भएका कर्जा सम्झौता करिब चार खर्ब ४० अर्ब युआन पुगेका छन् भने दुई खर्ब ८० अर्ब युआनभन्दा बढी कर्जा वितरण भइसकेको छ।
विश्लेषकहरूले यी नीतिले बजारमा तरलता र लगानीकर्ताको विश्वास बढाउन मद्दत गर्न सक्ने बताएका छन्। तर दीर्घकालीन बजार स्थिरता सूचीकृत कम्पनीको वित्तीय अवस्था र लगानीकर्ताको भरोसामा निर्भर रहने उनीहरूको भनाइ छ।





