डोल्पा कारागारबाट कैदी फरार प्रकरणको छानबिन गर्न डीआईजीसहित केन्द्रीय टोली पुग्यो

ड्रागन मिडिया सम्वाददाता
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा र केन्द्रीय तहको पाँच सदस्यीय टोली डोल्पा पुगेका छन्।
केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश प्रहरी कार्यालय, नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। दुवै टोलीले कारागारको सुरक्षा व्यवस्था, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको सम्भावित कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोषसिंह राठौरले बताए।
कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ। घटनास्थल पुगेका डीआईजी सापकोटाले कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही देखिएको बताए। “म आफैँ घटनास्थलमा पुगेर छानबिन गर्छु। छानबिनमा दोषी देखिए सम्बन्धित व्यक्तिलाई निलम्बन गरिनेछ,” उनले भने।
लागुऔषध कारोबारको घटनापछि कारागारका ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै कैदीबन्दी फरार भएका थिए। नयाँ इन्चार्ज खटाइएको तीन दिनपछि शुक्रबार राति उनीहरू भागेको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताएकी थिइन्।
शनिबार बिहान ६ बजे कैदीबन्दी गणना गर्दा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ बनाएका थिए। सुरुङ खन्ने क्रममा सेप्टिक ट्यांकी परेपछि त्यसलाई छल्दै बाहिर निस्किएको पाइएको छ। सुरुङ करिब साढे तीन मिटर लामो र चारदेखि पाँच फिट गहिरो रहेको हमालले बताइन्।
फरार हुनेमा जबरजस्ती करणीसम्बन्धी मुद्दाका पाँच र चोरीका तीन जना छन्। उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका थिए भने दुई जना पुर्पक्षका लागि थुनामा थिए।
घटनाको अनुसन्धान गर्न यसअघि प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय जिल्ला छानबिन समिति गठन गरिएको थियो। केन्द्रीय टोलीसमेत पुगेपछि कारागार प्रशासनको भूमिका, सुरक्षाकर्मीको जिम्मेवारी र सम्भावित लापरबाहीबारे थप अनुसन्धान हुने भएको छ। फरार कैदीबन्दीको खोजीका लागि प्रहरीले सम्भावित नाका र आवतजावत हुने क्षेत्रमा निगरानी बढाएको छ।





