जामथाङमा रातो औषधीय वनस्पतिको दिगो सङ्कलनसम्बन्धी व्यावहारिक तालिम

ड्रागन मिडिया सम्वाददाता
हालै रातो औषधीय वनस्पति (स्रो लो दमार्पो) को मापदण्डअनुसार सङ्कलन गर्ने व्यावहारिक तालिम गदथोक गाउँमा आयोजना गरिएको छ। गाउँ, बजार र विभिन्न बस्तीका प्रतिनिधि तथा उद्योगी–व्यवसायीसहित ४० जनाभन्दा बढी सहभागीले खेतमै पुगेर उच्च हिमाली क्षेत्रका औषधीय वनस्पति सङ्कलन गर्ने विधि र पारिस्थितिक संरक्षणसम्बन्धी सीप सिकेका छन्।
जामथाङ काउन्टी विज्ञान तथा प्रविधि सङ्घको नेतृत्वमा आयोजित कार्यक्रममा काउन्टीको विज्ञान तथा प्रविधि र कृषि तथा पशुपालनसम्बन्धी निकाय, वन तथा घाँसेमैदान ब्युरो, गदथोक गाउँ सरकार र रातो औषधीय वनस्पतिको पारिस्थितिक कृषि विकास कम्पनीले सहकार्य गरेका थिए।

विज्ञान प्रविधिबारे जनचेतना फैलाउने कक्षालाई खेतमै सारेर प्रत्यक्ष प्रदर्शन र अभ्यासमार्फत तालिम दिइएको थियो। यसबाट सहभागीले उच्च हिमाली औषधीय वनस्पतिको खेतीदेखि सङ्कलनसम्मका विधि हेर्न, सिक्न र व्यवहारमा लागू गर्न सक्ने आयोजकको भनाइ छ।
कार्यक्रममा अधिकारीहरूले नमुना खेती, अध्ययन तथा तालिममा आधारित उत्पादन प्रणालीबारे जानकारी दिए। पारिस्थितिक संरक्षणलाई प्राथमिकता दिँदै वैज्ञानिक र दिगो तरिकाले वनस्पति सङ्कलन गर्नुपर्नेमा उनीहरूले जोड दिए। प्राकृतिक स्रोतको संरक्षणसँगै त्यसलाई स्थानीय बासिन्दाको आय बढाउने “हरित सम्पत्ति”का रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रमले परम्परागत प्रचारशैलीभन्दा प्रत्यक्ष अभ्यासमा आधारित तालिमलाई प्राथमिकता दिएको थियो। यसले औषधीय वनस्पतिको व्यवस्थित सङ्कलन, व्यवस्थापन र संरक्षणसम्बन्धी स्थानीय बासिन्दाको ज्ञान तथा सीप बढाउनुका साथै रातो औषधीय वनस्पतिमा आधारित विशेष उद्योगको आधार बलियो बनाएको आयोजकको निष्कर्ष छ।
आगामी दिनमा जामथाङ काउन्टीले यस्ता व्यावहारिक विज्ञान तथा प्रविधि तालिमलाई निरन्तरता दिने जनाएको छ। औषधीय वनस्पतिको खेती, व्यवस्थापन र संरक्षणसम्बन्धी सीप विस्तार गर्ने, विशेष उत्पादनमूलक उद्योगलाई बढावा दिने र स्थानीय बासिन्दाको आय वृद्धि गर्दै ग्रामीण विकासलाई गति दिने लक्ष्य काउन्टीले लिएको छ।





