१८ कार्तिक २०८३, मंगलवार

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच मंगलबार भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–इजरायल सम्बन्ध र कर्णाली प्रदेशको विकासका विषयमा छलफल भएको हो।

भेटमा आधुनिक कृषि प्रणाली, प्रविधि हस्तान्तरण, युवालाई अवसर, वैदेशिक रोजगारी, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका विषय उठेका थिए।

इजरायलले कृषि क्षेत्रमा विकास गरेको प्रविधिलाई कर्णालीको भौगोलिक अवस्थाअनुकूल प्रयोग गर्ने, ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत युवालाई थप अवसर दिने तथा इजरायलबाट फर्केका नेपालीको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्ने सम्भावनाबारे सकारात्मक छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सुरेन्द्रबहादुर शाहीले बताए।

सरकारी प्रणालीमार्फत इजरायलमा केयरगिभरका रूपमा वैदेशिक रोजगारीका अवसर, जनस्तरको सम्बन्ध विस्तार र प्रविधि आदानप्रदानबारे पनि विचारविमर्श भएको उनले जानकारी दिए।

राजदूत बासले कृषि, खानेपानी, प्रविधि हस्तान्तरण र क्षमता विकासमा सहयोग तथा साझेदारी विस्तार गर्न इजरायल सरकार सकारात्मक रहेको बताए। मुख्यमन्त्री शाहीले कर्णालीको सम्भावना उजागर गर्न इजरायलको अनुभव, दक्षता र प्रविधि उपयोगी हुने विश्वास व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button