पूर्व चिनियाँ उपप्रधानमन्त्री लिउ यान्दोङको पार्थिव शरीर अन्त्येष्टि

ड्रागन मिडिया समाचार कक्ष
चीनकी पूर्व उपप्रधानमन्त्री तथा राज्य परिषदकी पूर्व सदस्य लिउ यान्दोङको पार्थिव शरीर मंगलबार बेइजिङमा अन्त्येष्टि गरिएको छ। ८१ वर्षीया लिउको अक्टोबर २८ मा बेइजिङमा निधन भएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टी र राज्यका वरिष्ठ नेताहरूले मंगलबार बिहान बाबाओशान क्रान्तिकारी समाधिस्थलमा लिउप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति सी चिनफिङसहित झाओ लेजी, वाङ हुनिङ, छाई छी, तिङ सुएसियाङ, ली सी र हान चङ पनि श्रद्धाञ्जली सभामा सहभागी थिए।
शोकधुनका बीच नेताहरूले लिउको पार्थिव शरीरअघि मौनधारण गरे र तीनपटक झुकेर अन्तिम सम्मान व्यक्त गरे। उनीहरूले लिउका परिवारका सदस्यसँग हात मिलाउँदै समवेदना प्रकट गरे।
लिउले चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ र १८औँ केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको १०औँ राष्ट्रिय समितिकी उपाध्यक्षका रूपमा पनि काम गरेकी थिइन्। उक्त सम्मेलन चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ निकाय हो।
चिनियाँ सञ्चारमाध्यमले उनलाई उत्कृष्ट पार्टी सदस्य, निष्ठावान कम्युनिस्ट योद्धा तथा पार्टीको संयुक्त मोर्चा कार्य, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य र महिला तथा बालबालिकासम्बन्धी काममा योगदान पुर्याएकी नेताका रूपमा स्मरण गरेका छन्।
सी चिनफिङ, ली छ्याङ, झाओ लेजी, वाङ हुनिङ, छाई छी, तिङ सुएसियाङ, ली सी, हान चङ र हु चिन्ताओलगायत नेताहरूले लिउ अस्पतालमा रहँदा भेटेका थिए वा निधनपछि परिवारप्रति समवेदना व्यक्त गरेका थिए।





